काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेशागत मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई आग्रह गरेका छन्।
नेपाल अडिटर्स एसोसिएसन (अडान), उपत्यका प्रदेश समितिको पाँचौ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले लेखा परीक्षणको नाममा राज्यलाई आर्थिक नोक्सानी पुर्याउन नहुनेमा जोड दिएका हुन्।
मन्त्री यादवले भने, 'आर्थिक हिसाब प्रष्ट पार्न लेखापरीक्षकको आवश्यकता छ। लेखापरीक्षण गर्दा राज्यलाई आर्थिक नोक्सानी हुने गरी ‘मुख मिलाउन’ हुँदैन।'
वास्तविक लेखापरीक्षण गरेर आर्थिक हिनामिना गर्न नदिन लेखापरीक्षकको ठूलो भूमिका रहेको औँल्याउँदै मन्त्री यादवले लेखापरीक्षणका क्रममा हुने अनियमितता रोक्न सम्पूर्ण लेखापरीक्षक एक हुनुपर्ने बताए।
'लेखा परीक्षणका क्रममा हुने अनियमितता रोक्ने हैसियत र सीप तपाईंहरुसँग छ, अब सरकारलाई लेखापरीक्षकको साथ चाहिएको छ,' मन्त्री यादवले भने।
जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आफू क्रियाशील रहेको उल्लेख गर्दै उनले कम्पनी, उद्योग, प्रतिष्ठान दर्तालगायत कामलाई सहज बनाउन सरकाले एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको उल्लेख गरे।
अडान अध्यक्ष मोहनराज रेग्मीले विगतमा लेखापरीक्षण पेशामा विकृति देखिएको स्वीकार गर्दै अब उप्रान्त लेखापरीक्षणका क्रममा हुने मिलेमतो रोक्नुपर्ने बताएका थिए।
नेपाल चार्टड एकाउन्टेन ऐन, २०५३ ले लेखापरीक्षकलाई विभेद गरेको गुनासो गर्दै उनले विभेद हटाउन सबै एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे।
सो अवसरमा अडानका प्रतिनिधिले उद्योग तथा कम्पनी दर्ता गर्न सहज भए पनि खारेजी गर्न विभिन्न झण्झट व्यहोर्नुपरेको, सहजैरुपमा राजस्व दाखिला गर्नेलगायत नीतिगत व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका थिए।
एशोसियसनमा तीन हजारभन्दा बढी लेखापरीक्षक आबद्ध रहेका छन् भने उपत्यकाभित्र दुई हजार ५०० बढी लेखापरीक्षक छन्।
अधिवेशनले उपत्यका प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।