राजविराज– सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुर स्थित प्रहरी चौकीको नवनिर्मित भवन शुक्रबार उद्घाटन भएको छ।
प्रदेश–२ का प्रहरी प्रमुख (डिआइजी) हरिबहादुर पालले निर्माण सम्पन्न नहुँदै चौकीको भवन उद्घाटन गरेका छन्। चौकीका लागि २ कठ्ठा १६ धुर जग्गामा २ थुनुवा कोठासहित ७ कोठाको २ तले पक्की भवन निर्माण भएको छ।
प्रहरी प्रधान कार्यालयको आवास तथा भौतिक योजना महाशाखाबाट प्राप्त १३ लाख ४४ हजार, सप्तकोसी नगरपालिकाको १३ लाख, स्थानीय संघ/संस्था र व्यक्तिको सहयोग २ लाख ४४ हजार ६ सय २५ तथा २ लाख ६० हजार बराबरको जनश्रमदान गरी कुल ३८ लाख ६० हजार ३ सय २४ रुपैयाँको लागतमा भवन निर्माण भएको हो। भवनको अन्तिम चरणकाे काम अझै बाँकी छ।
सदरमुकाम राजविराजबाट ४६ किलोमिटर पूर्व–उत्तर तथा पूर्वपश्चिम राजमार्गबाट १३ किलोमिटर उत्तरमा रहेको यो चौकी २०१२ सालमा स्थापना भएको हो।
चौकीका लागि आव ०६८/०६९ मा २ कठ्ठा १६ धुर जग्गा प्राप्त भएपछि भवन निर्माणको काम सुरु भएको थियो। रकम अभावका कारण भवन निर्माणको काम पूरा हुन नसकेपछि लामो समय सिँचाइको भवनवाट प्रहरी कार्यालय सञ्चालन भएको थियो।

नहदा–चतरा (कोसी पुल) फत्तेपुर–कञ्चनपुर–रुपनगर सडक निर्माणका क्रममा सडक क्षेत्रभित्रै परेपछि २ वर्षअघि सिँचाइको उक्त भवन पनि भत्काइयो।
त्यसपछि स्वास्थ्य चौकी फत्तेपुरको वर्थिङ सेन्टरबाट सेवा दिँदै आएको चौकीलाई भवन खाली गर्न पटक–पटक दबाब परेपछि अधुरै अवस्थामा भवन उद्दघाटन गरेर कार्यालय सार्नु परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गतका करिब ५१ मध्ये आधा दर्जनभन्दा बढी युनिट अझै भवनबिहीन छन्। नयाँ संरचनाअनुसार थप भएको प्रहरी चौकी विष्णुपुरसहित तिलाठी, लोहजरा, पथ्थरगाढा, पातो, डिमन, तरहीलगायतका स्थानमा अहिले पनि प्रहरीको आफ्नो भवन छैन।
मन्दिरका धर्मशाला, विद्यालयको प्रयोग नभएको भवन र सिँचाइका जीर्ण भवनमा बसेर सेवा प्रवाह गर्नु परेको एसपी राजेन्द्र विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।