काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाका नेता भएको आरोपमा पक्राउ परेका अखिल क्रान्तिकारीका अध्यक्ष तथा कानुन व्यवसायी चिरन्जीवी ढकाल जिल्ला अदालत काठमाडौको आदेशले छुटे लगत्तै पुनः प्रहरीले पक्राउ गर्न खोजेपछि झडप भएको छ।
काठमाडौ जिल्ला अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको हो। ललितपुर जिल्ला बार एसोसिएसनका कार्यसमिति सदस्य चिरन्जीवी ढकाललाई जिल्ला अदालत काठमाडाैंले साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको थियो।
प्रतिबन्धित विप्लव समूहको गतिविधिमा संलग्न भएको भन्दै गत २७ बैसाखमा विभिन्न ११ विद्यार्थी संगठनले गरेको पत्रकार सम्मेलन सकिएपश्चात् बागबजारबाट प्रहरीले घेरा हालेर उनलाई पक्राउ गरेको थियो।
त्यसविरुद्ध जिल्ला अदालत काठमाडाैंमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर भएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएकाे थियो। तर, प्रहरीले उनलाई अदालतको गेटबाटै पक्राउ गर्न खोजेपछि झडप भएको हो।
ढकाललाई पुनः पक्राउ गर्नुपर्ने कारणसहितको पक्राउ पूर्जी दिएर मात्रै पक्राउ गर्न भन्दै कानुन व्यवसायीहरुले माग राखेपछि प्रहरीले धरपकड गरेकाे थियाे। साे क्रममा ४ जना कानुन व्यवसायी घाइते भएका अधिवक्ता चन्द्र गुरागाईंले बताए।
राजनीतिक आस्था र विचारका आधारमा कसैलाई पनि पक्राउ गर्न नपाइने आदेशमा उल्लेख छ। प्रहरीले ढकालविरुद्धको मुद्दा बिहीबार अदालतमा दर्ता गरेको थियो। शुक्रबार थुनछेकसम्बन्धी बहस भएको थियो।
उनको पक्षमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष इश्वरीप्रसाद भट्टराई, महासचिव लिलामणि पौडेल, वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायतले बहस गरेका थिए।
‘विप्लव समूहसँग राजनीतिक आस्थासम्म राखिएको भन्ने देखिएको कुनै पनि तत्काल प्रमाणबाट सरकारप्रति घृणा द्वैष फैलाउने प्रकृतिका कार्य नगरेको देखिन आएको हुँदा साधरण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु,’ आदेशमा भनिएको छ।
भिडियाेः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।