काठमाडौं– प्रहरीले रोल्पाबाट २ थान सकेट बम, २५ राउण्ड गोली र पेस्तोलसहित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाका ३ कार्यकर्ता पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक राजेन्द्र कुमार रानाको कमान्डमा खटिएको टोलीले हतियारसहित विप्लव समूहका ३ जना कार्यकर्तालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका–२ का जिल्ला इन्चार्ज ५२ वर्षीय जयबहादुर रोका (प्रताप), लुंग्री गाउँपालिका–२ का इलाका इन्चार्ज ४२ वर्षीय भुपेन्द्र खडका (गोरे) र लुंग्री गाउँपालिका–१ का ४२ वर्षीय धन बहादुर खत्री (टाइगर) पक्राउ परेका छन्। टाइगर लुंग्री र सुनछहरी गाउँपालिका इन्चार्ज हुन्।
बिहीबार दिउँसो साढे १ बजे लुङग्री गाउँपालिका–१ ऐपेबाट उनीहरु पक्राउ परेका हुन्।
उनीहरुको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल, ३०३ राइफलको गोली १४ थान, अन्य बन्दुकको गोली ११ थान गरी जम्मा २५ राउण्ड गोली, सकेट बम २ थान र खुकुरी १ थान बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत रोल्पाबाट उनीहरु माथि ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।