फाइल तस्बिर।
काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरेका छन्।
सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गरे। उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए।
शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गरे। २ कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्याउँदै सभापति देउवाले सो हारको दोषी आफूलाई मात्रै लगाउने गरेकोमा आपत्ति पनि जनाए।
मञ्चमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि निर्वाचनका बेला वार्ताको लागि पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराए। उनले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैह्र-प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाए।
कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरे। उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने पनि बताए।
नेता सिटौलाले पार्टीभित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाँहि हुनै नहुने पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।