काठमाडौं– नेकपाले जिल्ला र जनवर्गीय संगठनको एकता टुंग्याउँदा एउटै मापदण्ड अपनायो । मापदण्डमा पूर्व अध्यक्षहरुलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिइयो। तर, नेकपाको विद्यार्थी संगठन अनेरास्वियूमा भने यो मापदण्डले काम गरेन। एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नविना लामा विद्यार्थी राजनीतिबाट टाढिने मनशायमा पुगेपछि त्यताबाट उपाध्यक्ष रश्मी आचार्य, सुनिता बराल र महासचिव ऐन महर नेतृत्वमा दाबी गरिरहेका थिए ।
अखिल क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ र उपाध्यक्ष सुरेन्द्र बस्नेत नेतृत्व हत्याउन लागिपरेका थिए। तर, महासचिव महरले बाजी मारे। एकता प्रक्रिया क्रममा नेतृत्वमा 'बढुवा' भएर जिम्मेवारी पाउने एक मात्र नेता उनी बने।
ऐनलाई बढुवा गरेर जिम्मेवारी दिइएपछि पूर्व एमालेनिकट अनेरास्ववियु र अखिल क्रान्तिकारीका नेताहरु भने आक्रोशित बनेका छन्। अनेरास्ववियु उपाध्यक्ष रश्मी आचार्यले एकताको विधि विचित्रको अपनाइएको टिप्पणी गरेका छन्। नेतृत्व बारे निर्णय बाहिर आएपछि उनले आश्चर्य प्रकट गर्दै प्रतिक्रिया दिए, 'अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनु पर्नेमा अनेरास्ववियुमा एकैचाटी महासचिवमा पो झरेको भन्ने सुनियो।' उनले अध्यक्ष पछि रोल नं २ उपाध्यक्षको भएको स्वयंसिद्ध भएपनि एकतामा दोहोरो मापदण्ड अपनाइएको भन्दै आक्रोश पोखेका छन्।
आफूले अनेरास्ववियुको संगठित इतिहासमा १७ औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष, उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले एकिकृत अनेरास्ववियूको संयोजक बन्ने चाहाना पार्टी नेतृत्वको सामु स्पष्ट ढंगले राखेको बताएका छन्।
अखिल क्रान्तिकारीका उपाध्यक्ष विधि अनुसार नेतृत्व नदिइएको उल्लेख गरेका छन्। उनले महासचिव महरलाई संयोजक तोकिएको विषमा आक्रोश पोख्दै लेखेका छन्, 'एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन । उपाध्यक्ष मुनि समेत पनि हैन महासचिव भन्दा मुनी राखेर यदि त्यसैलाई विधि भनिन्छ भने त्यो अरुअरु कुरा होला कमसेकम विधि चाहिँ होइन।'
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले 'कहिलेकाहिँ समयले मजाक गर्ने गर्दो रहेछ' आक्रोश पोखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।