काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा आफूहरुले दुई तिहाइ ल्याउने दाबी गरेका छन्।
'हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ। कतिलाई पचेको छैन। अहिले हामीसँग अलिकति दुई तिहाइ छैन। नपचेर के गर्ने? अर्को पटक दुई तिहाइ हुन्छ। एकल दुई तिहाइ मत,' उनले भने, 'किनभने यो पार्टीले देश र जनताको पक्षमा काम गर्छ। यस पार्टीका नेताहरु धन धमाउन हिँडेका छैनन्। अरु कुनै उद्देश्यका साथ हिँडेका छैनन्।'
बल्खुमा आयोजित मदन–आश्रितको २६औं स्मृतिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्ने नदिने वचन दोहोर्याए। राष्ट्र निर्माण गरेर सफलताका सिँढीहरु चलिरहेको उनको दाबी थियो।
'यस पार्टीलाई नमुना पार्टीका रुपमा विकास गर्नुपर्छ। केही कमजोरी र असजिला छन्। तर हामीले ती कुराहरुलाई सच्याउनुपर्छ। अनुशासित पार्टीका रुपमा विकसित गर्नुपर्छ। हामीले आन्तरिक, सार्वजनिक, आवेश र यथार्थका कुरा के हुन्, तिनीहरुलाई छुट्याएर अभिव्यक्ति दिनुपर्छ। सार्वजनिक ढंगले आक्रोशका कुरा दिनु वाञ्छनीय हुँदैन', प्रधानमन्त्री ओलीले भने।
आफूहरु अनुशासित पार्टीका माध्यमबाट मात्रै अघि बढ्न सक्ने बताए।
ओलीले मदन भण्डारीले अगाडि सारेका सोचहरुकै कारणले आज कम्युनिस्ट पार्टी बलियो भएको दाबी गरे। (तस्बिर : रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।