काठमाडौं- चिया उद्योग तथा बगानमा कार्यरत श्रमिकका समस्या सम्बोधनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट इलामको कन्याम पुगेका छन्।
न्यूनतम पारिश्रमिक लागू नभएको भन्दै चिया मजदुरले आन्दोलन गरी काम ठप्प पारेका थिए। श्रमिकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सर्तमा व्यवसायी सहमत भएपछि ४५ दिनपछि ठूला उद्योग सञ्चालनमा आए पनि साना चिया उद्योग तथा बगान भने सञ्चालनमा आउन सकेका छैनन्।
भोलिदेखि कन्याम चिया बगान लगायत अन्य चिया बगान पनि सञ्चालनमा आउने गरी सरकार, रोजगारदाता र श्रमिकहरुबीच सहमति जुटेको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। कन्याम चिया बगानले श्रमिकको न्यूनतम पारिश्रमिक दिने र श्रम ऐन पूर्ण रुपमा लागू गर्ने सर्तमा भोलिदेखि सञ्चालनमा आउने जनाइएको छ।
सरकारले गत साउनदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक तोकेको थियो। साउनदेखिकै पारिश्रमिक श्रमिकहरुले पाउने प्रेस संयोजक खनालले बताए। चिया मजदुरको न्यूनतम ज्याला दैनिक २७८ रहँदै आएकोमा सरकारले वृद्धि गरी ३८५ रुपैयाँ निर्धारण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।