रामग्राम- गौतम बुद्धको अस्तुधातु रहेको ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको नवलपरासीको रामग्राम स्तुपलाई बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्षले अहिलेसम्म 'छुन' सकेको छैन।
बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्षका लागि लुम्बिनी विकास कोष तथा प्रदेश ५ सरकारले करोडौँ रकम विनियोजन गरेको भएपनि त्यो खर्च रामग्रामसम्म भने पुगेको छैन।
बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को औपचारिक शुभारम्भ जेठ ४ गते हुदैँछ। बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष निकै तामझामका साथ राष्ट्रपति विद्यादेवि भण्डारीले शुभारम्भ गर्दैछिन्।
कार्यक्रमको औपचारिक शुभारम्भ हुनु एक दिन अगाडिसम्म रामग्राम सुनसान छ। रामग्राम जाने बाटो धुलाम्य छ। स्तुपभित्र लुम्बिनी विकास कोषबाट खटिएका २ जना सुरक्षा गार्ड र ४/५ जना स्थानीय युवा बाहेक कोही थिएनन्।
प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्धसँग सम्बन्धित स्थानको विकास, प्रवर्द्धन र प्रचारप्रसारका लागि लाखौँ खर्च गरिसकेको छ। नेपालका ७ वटै प्रदेशमा पुगेर पत्रकार सम्मेलन मार्फत् लुम्बिनी भ्रमणको निम्तो समेत दिएको प्रदेश सरकारले रामग्राममा एउटा प्रचारात्मक ब्यानर समेत राख्न सकेको छैन।

गौतम बुद्धको अष्टधातु राखिएको विश्वकै एकमात्र सुरक्षित स्थान रामग्राम विकास, संरक्षण र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीयको गुनासो छ।
नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट ३ किलोमिटर दक्षिण रामग्राम नगरपालिका-७ उजैनीमा अवस्थित रामग्राम स्तुपको चौतर्फी विकासका लागि रामग्राम विकास कोषको स्थापना हुन जरुरी रहेको स्थानीय राधेरमण पाण्डेयको भनाइ छ।
माटोको ठुलो ढिस्कोले चिनिने रामग्राम स्तुपमा कुनै प्रकारको भौतिक पूर्वाधार निर्माण, संरक्षण तथा प्रचारप्रसारमा ध्यान नपुगेको स्थानीयको गुनासो छ।
लुम्बिनी विकास कोषले गत वर्ष स्तुपा भित्र हिड्न तथा प्रार्थना गर्न मिल्ने गरी काठको संरचना तयार गरेको छ। त्यसले केही सहज भएको उनीहरुको भनाइ छ।
रामग्रामको विकासका लागि गुरुयोजना निर्माण, त्यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले समेत खासै चासो नदेखाएको स्थानिय पाण्डेको आरोप छ।
प्रदेशसभा सांसद् वैजनाथ कलवारले प्रदेश सरकार र लुम्बिनी विकास कोषले रामग्रामको उपेक्षा गरेको आरोप लगाए। रामग्राम स्तुपको पूजा तथा अवलोकन भ्रमण गर्न विभिन्न देशका पर्यटकहरु आउने गरेपनि बस्ने होटेल, खानेपानी, शौचालय, पार्क अभावले पर्यटक आउने बित्तिकै फर्किने गरेको उनको भनाई छ।
उनले लुम्बिनी भ्रमण वर्ष तथा बुद्ध जयन्तीका लागि निकै तामझाम साथ कार्यक्रम गर्न लागिए पनि रामग्राममा भने कुनै कार्यक्रम नगरिएको र वर्षमा एक दिन झारा टार्ने काम मात्रै गर्ने गरेको उल्लेख गरे।
रामग्राम स्तुप पच्चीस सय वर्ष पहिला कोलिय राजाद्वारा निर्मित स्तुपका रुपमा मानिँदै आएको छ। किंवदन्तीअनुसार शान्तिका अग्रदूत भगवान बुद्धको महापरिनिर्वाणपछि अन्त्येष्टि र अन्त्येष्टिपछि बचेको अस्थि(अवशेष) कलशमा राखेर बनाइएको यो स्तुप हो।

कोलिय गणराज्यको राजधानीलाई रामग्राम पनि भनिन्थ्यो। रामग्रामका राजाले स्तुप बनाएका कारण यस्को नाम रामग्राम स्तुप भनिएको हो। रामग्राम स्तुपको खोजी गर्दा कोलिय राजधानी रामग्रामदेखि चार माईल पूर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियाँयात्रीको वर्णनको आधारमा रामग्राम स्तुप भेटिएको थियो।
स्तुपको महत्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटकमा पनि उल्लेख छ। बुद्धको परिनिर्वाण पश्चात् विभिन्न राजाले बनाएका ८ स्तुपमा अस्तु रहेको छ। बाँकी ७ वटा स्तुपको उत्खनन गराइ तत्कालीन मगध सम्राट अशोक मौर्यले अस्थिलाई विभिन्न देशमा पुर्याउँदै ८४ हजार स्थानमा बाँडेर स्तुप बनाउन लगाएका तर रामग्रामको अस्तु भने सुरक्षित रहेको किंवदन्ति प्रचलित छ।
त्यतिबेला बुद्धका अनुयायीहरुले शान्ति प्राप्त गर्न रामग्राम स्तुपको पुजाआजा गर्न रामग्राम स्तुपको निर्माण गरेको उल्लेख छ।
रामग्राम स्तुपको विकास गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषलाई दिइएको छ। बुद्ध सँगसम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम स्तुप, पण्डितुपर र देवदहलगायतका धार्मिकस्थलको विकासका लागि सरकारले वर्षेनी करोडौं रकम कोषलाई दिँदै आएको छ तर कोषले सवै तीर्थस्थलको समानुपातिक र समुचित विकास गर्न नसकेको सर्वसाधारणको गुनासो छ।
रामग्राम नगरपालिका र जिल्ला विकास समन्वय समिति रुपन्देहीले पनि यसको विकास र संरक्षणमा खासै चासो नदेखाएको स्थानीयको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।