प्युठान- जिल्ला प्रशासन कार्यालय प्युठानमा स्तनपान कक्ष खुलेको छ। बच्चासहितका आमाहरुले आफ्ना दूधे सन्तानलाई व्यवस्थित कक्षमा दूध चुसाउन सक्ने गरी प्रशासन हाताभित्र स्तनपान कक्ष खोलिएको व्यवस्था प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
प्रजिअ गैह्रेले सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको बताए। 'कार्यालयमा काम लिएर आउने महिलाहरुले कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहज रूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उेद्दश्यले स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो,’ उनले भने।
दूधे बच्चा बोकेर कार्यालय आउने महिलाहरुको सेवाका लागि स्तनपान कक्ष बनाएको उल्लेख गरे। सुरक्षित कक्षमा दुध खुवाउन सक्नेगरी व्यवस्था मिलाइएको गैह्रेले बताए।
यसअघि प्रजिअ गैह्रेकै सक्रियतामा प्युठान कार्यालयमा नागरिक सहायता कक्ष स्थापना भएको थियो।
जिल्ला प्रशासनले प्रत्येक हप्ताको आइतबार कार्यालयमै स्वास्थ्यपरीक्षण सुविधा समेत प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।