एनएमबीसँग गाभिँदै ओम डेभलपमेन्ट बैकं

नेपाल लाइभ | २०७६ जेठ २ बिहीबार | Thursday, May 16, 2019 १९:२१:०० मा प्रकाशित

काठमाडौं– एनएमबी बैंक लिमिटेडसँग ओम डेभलपमेन्ट बैंक गाभिने भएको छ। 

एनएमबी बैंक तर्फका मर्जर कमिटीका संयोजक प्रदीपराज पाण्डे र ओम डेभलपमेन्ट बैंकतर्फका मर्जर कमिटीका संयोजक योगेन्द्र प्रधानबीच एमओयुमा बिहीबार हस्ताक्षर भएपछि गाभिने टुंगो लागेको हो। 

मर्जरपछि बैकंको नाम एनएमबी बैंक लिमिटेड रहने उल्लेख गरिएको छ। 

एनएमबी बैंकले हाल १ सय १० वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरबाट र ओम डेभलपमेन्ट बैंकले ५३ वटा शाखा तथा १ एक्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको थियो।

मर्जपश्चात १ सय ६३ वटा शाखा र ५ वटा एक्सटेन्सन काउन्टरको सञ्जालमार्फत सेवा दिने विश्वास बैंकले लिएको छ। 

त्यस्तै हाल एनएमबीको १ सय १ वटा एटिएमहरू र ओम डेभलपमेन्ट बैंकको १९ वटा एटिएमहरु सञ्चालनमा छन् भने गाभिएपश्चात १ सय २० वटा एटिएमहरु सञ्चालनमा ल्याउने जनाएको छ। 

दुई बैंक मर्ज भएपछि बैंकको कुल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड हुने उल्लेख छ। बैंक निक्षेप १ खर्ब १९ अर्ब तथा बैंक कर्जा १ खर्ब १३ अर्ब पुग्ने बैंकले जानकारी दिएको छ। 

बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका दुई  बैंकको शाखा सञ्जालको विस्तार पश्चात ग्राहकलाई सरल एवं पहुच योग्य वित्तीय सेवा सुविधा प्रदान गर्ने बैंकले विश्वास लिएको छ। 

ओम डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्ष सुशिल गोसालीले पहिलेदेखि नै एनएमबीसँग मर्ज गर्ने योजना बनाइरहेको बताए। आफूले सोचेको पूरा भएको भन्दै अध्यक्ष गोसालीले खुसी व्यक्ति गरे। 

उनले मर्जको सुरुका दिनमा केही अप्ठ्याराहरू आए पनि मिलेर समस्याको समाधानमा जोड दिने बताए। उनले भने, ‘हामी अन्य बैंकभन्दा फरक धारको बैंकका रुपमा एनएमबी बैंक लिमिटेडलार्ई अगाडि बढाउँछौं।’

एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले २३ वर्षदेखि सञ्चालित एनएमबी बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट बैकं भएको बताए।