एजेन्सी : मेक्सिकोमा सय वर्षयता गएको सर्वाधिक शक्तिशाली भूकम्पमा ६ जनाको मृत्यु भएको छ । मानवीय र भौतिक क्षतिको विस्तृत विवरण आइसकेको छैन । अधिकांश सर्वसाधारण सुतिरहेका बेला भूकम्प गएकाले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
मेक्सिकोको दक्षिणी सामुद्रिक तटमा स्थानीय समयअनुसार शुक्रबार सवेरै ८.१ म्याग्नीच्युडको भूकम्प गएको थियो । मेक्सिकोका राष्ट्रपति इनरिके पेना निटोले भूकम्प सय वर्षयताकै सबैभन्दा शक्तिशाली भएको बताए ।
राष्ट्रपतिले चियापास राज्यमा ३ जना र टबास्को राज्यमा २ जनाको मृत्यु भएको बताए । भूकम्पले चियापास राज्यमा सबैभन्दा बढी असर गरेको छ ।
भूकम्पपछि त्यहाँ सुनामी आइरहेको छ । एउटा छाल एक मिटरको आएको नेस्नल वेदर सर्भिसको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख छ । सेन्टरले ३ घन्टाभित्र मेक्सिको, ग्वाटेमाला, पनामा, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, होन्डुरस र इक्वेडोरका समुद्र तटमा सुनामी आउने चेतावनी जारी गरेको छ ।
भूकम्पपछि ८ लाख सर्वसाधारण अन्धकारमा भएको र खानेपानी विनै बस्नुपर्ने भएको छ । चियापास राज्यमा धेरै घर भत्केका छन् ।
भूकम्पपछि ५ म्याग्निच्युडभन्दा माथिका ४ परकम्प गएको अमेरिकी भौगर्भिक संस्था युसजिएसले जनाएको छ ।
राजधानी मेक्सिको सिटी र ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा समेत भूकम्पको धक्का अनुभव गरिएको थियो । मेक्सिकोको पूर्वी भूभागका बासिन्दाले भने मुसलधारे वर्षासहित आँधी काटियाको सामना गरिरहेका छन् ।
भूकम्पको केन्द्रविन्दु मेक्सिको सिटीबाट हजार किलोमिटर र समुद्र तटबाट १ सय २० किलोमिटर दक्षिणपूर्व प्रशान्त महासागरमा ६९.७ किलोमिटर गहिराइमा रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।