पार्टीमा वैचारिक एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

रासस | २०७६ जेठ २ बिहीबार | Thursday, May 16, 2019 १७:०३:०० मा प्रकाशित

गलकोट- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताएका छन्।

नेकपा गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्‍याउने बताए। 'प्रक्रियागत एकताभन्दा पनि वैचारिक एकता जरुरी हुन्छ,' उनले भने।

गुरुङले गलकोट क्षेत्रका विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै गलकोट बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न आजैबाट सकारात्मक कदम चाल्नुपर्ने धारणा व्यक्त गरे। मुलुकमा उपलब्ध स्रोत, साधन र संस्कृतिलाई आर्थिक रुपान्तरणका लागि सदुपयोग गर्नुपर्ने बताउँदै उनले गरीबी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

मुख्यमन्त्री गुरुङले कम्युनिस्टले समृद्धिका लागि ठूलो योगदान गर्न आवश्यक रहेको भन्दै आम पार्टी कार्यकर्तालाई समृद्धिका पक्षमा स्थानीयस्तरबाटै पहल गर्नुपर्ने बताए।

भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालिगण्डकी करिडोर र मध्यपहाडी पुष्पलाल लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउनेमा उनी विश्वास्त देखिए।