काठमाडाैं- बागमती तीर्थयात्रीको समूह २० तीर्थको भ्रमण गर्दै बागमतीको उद्गमस्थल बागद्वारबाट बिहीबार बिहान बूढानीलकण्ठका लागि प्रश्थान गरेकाे छ। समूहले यहाँ आई स्नान, पूजा एवं दर्शन गर्ने कार्यक्रम छ। बिहीबार बेलुकीको बास बस्न टाेली बज्रयोगिनी पुग्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।
टाेली बुधबार दिउँसाे मात्रै बागमतीको उद्गमस्थल बागद्वार पुगेको थियाे। बुधबार बिहान ७ बजे सुन्दरीजलबाट सुरु भएको यात्रा गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र पार गर्दै १९ तीर्थमा स्नान, पूजा र दर्शन गर्दै दिउँसो बागद्वार पुगेको थियाे। तीर्थमा यज्ञसहित १९ पार्थिव लिङ्ग पूजनसमेत गरिएको थियो।
सुन्दरीजलबाट बागद्वारसम्म कोलमती, वाल्मीकि, अमलाम्बु, श्वेतबराह, सुन्दरीमाई, सहस्रसुन्दरी, चाङमती, मदलाम्बु, काकगङ्गा, निमलाम्बु, नागमती, स्यालमती, पुण्यमती, धनुष, विमलाम्बु, गजमती, महाकाल, धर्मावती र सहस्रधारा गरी तीर्थमा स्नान, पूजा र दर्शन गरिएको सदस्य सचिव ढकालले जानकारी दिए।
सुन्दरीजलबाट नदी किनार पैदलयात्रा गरी तीर्थ परेका स्थानमा स्नान, पूजा र दर्शन गरी तीर्थयात्री समूह सुन्दरीजल पुगेको यात्राका मूलपुरोहित महेश भट्टले बताए। टाेली बुधबार बागद्वारमै बसेकाे जनाइएको छ। बेलुकी बागमतीको तान्त्रिक साधनासहित नदीको महत्वका बारेमा प्रवचन समेत गरिएकाे थियाे।
हिमवत खण्डलगायत पौराणिक ग्रन्थमा उल्लेख भएका बागमतीको महत्वका बारेमा तीर्थ यात्राका मूलपुरोहित भट्टले प्रवचन गरेका थिए।
बैसाख शुक्ल षष्ठीका दिन अर्थात बैसाख २७ गते शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा सुरु भएको थियो। समूह कटुवाल दहबाट सुन्दरीघाट, टेकु, शङ्खमुल हुँदै पशुपति क्षेत्र आइपुगेको थियो।

ने मुनिले सुरु गरेकाे विश्वास गरिने बागमती तीर्थयात्रा बागमती प्रदूषित हुन थालेपछि विसं २०४१ देखि बन्द भएको थियो। कोषका सदस्य सचिव डा ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थयात्रा पुनः सुरु भएको हो।
तीर्थ यात्राका क्रममा कटुवाल दहबाट बागद्वारसम्मका १६५ तीर्थ स्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, बागमती माहात्म्य वाचनलगायत कर्म गरिएकाे छ। बागद्वारमा बुधबार बेलुकी सबै तीर्थयात्रीले विधिअनुसार नृत्य गरेका आगम घरका पूजारी मदन भट्टले बताए।
जेठ ३ गते शुक्रबार चाँगुनारायण स्नान, पूजा र दर्शन गरी पशुपतिनाथ आएर बास बस्ने कार्यक्रम छ। जेठ ४ गते शनिबार वैशाख शुक्लपूर्णिमाका दिन पशुपति रुद्रगाडेश्वरमा समापन यज्ञ गरेपछि यस वर्षको नौ दिने यात्रा समापन हुनेछ। त्यसै दिन यात्राको जल प्रसाद वितरण गरिने जनाइएको छ।
फाेहाेर पानीले समस्या
विसं २०४१ सम्म बैसाख कृष्ण चतुर्दशीदेखि बैसाख शुक्ल पूर्णिमासम्म १७ दिन यात्रा गरिन्थ्यो। गतवर्ष पुनः निरन्तरता दिँदा यसको अवधि ७ दिन थियो। यस वर्ष ९ दिन गरिएकामा विसं २०७७ मा बढाउने कोषले जनाएको छ।
यात्रामा ५३ जना महिला भक्तसहित १ सय ११ तीर्थयात्री सामेल छन्। विसं २०४१ सम्म बागमती नदीभित्र पानीमै खाली गोडायात्रा हुन्थ्यो। नदी स्वच्छ हुँदा कटुवाल दहबाट बागद्वारसम्मका १ सय ६५ वटै तीर्थस्थलमा बागमतीकै जलले स्नान गरिन्थ्यो। हाल प्रदूषित पानी भए पनि हातमा छम्कँदै हिँड्न बाध्य हुनुपरेको पूजारी भट्टले गुनासो गरे।
कतिपटक त फोहर पानीले हातमा चिलाएर घाउ उत्रिएको अनुभवसमेत उनले सुनाए।
तीर्थयात्राले बागद्वारकै जस्तो स्वच्छ पानी कटुवाल दहबाट उपत्यका बाहिर पठाउने गरी जागरण अभियान फैल्याउने कोषको लक्ष्य छ। यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र बागमती सफाइ महाअभियानलगायत सहायक नदीको सफाइ अभियानसँग सहकार्य गरिने पनि सदस्य सचिव ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।