फाइल तस्बिर- गत वर्ष सेतीदाेभान क्षेत्रमा पहिराे नियन्त्रणका लागि जुट नेटिङ गरिँदै।
– नारायण अधिकारी/रासस
भरतपुर- नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्ने काम वर्षात अगाडि नहुने भएको छ। गत वर्षको वर्षातमा भाँसिएका दुई ठाउँको पुनःनिर्माण कार्य पनि यो वर्षात अघि नहुने भएको छ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकका ७ ठाउँ पहिरोका दृष्टिले उच्च जोखिममा रहेका छन्। उनका अनुसार भालुढुङ्गा र चार किलोमा गत वर्ष काम गर्न सकिएको थिएन। गएकै वर्षातमा थप पाँच ठाउँमा पहिरो खस्ने समस्या देखिएको थियो।
ती ठाउँ गाईघाट, घुमाउने, चारकिलो नजिक टोपे खोला र कालीखोलामा पहिरो रोक्नुपर्ने अवस्था छ। ती ठाउँमा गतवर्ष अन्य ठाउँमा गरिएका ‘रक नेटिङ’ (ढुङ्गालाई तारले बाँध्ने), ‘रक बोल्टिङ’ (ढुङ्गालाई नट बल्टुले कस्ने), बायो इञ्जिनीयरिङ (बिरुवा रोप्ने) सँगै नयाँ प्रविधि ‘रवर सिल’ गर्ने (ढुङ्गाको प्वाल परेको ठाउँमा रबर छिराएर बन्द गर्ने) तयारी गरिएको छ।
यस्तै सोही सडक खण्डको १७ किलो र २६ किलोमा गतवर्ष काम गर्दागर्दै सडक भासिएको थियो भने २४ किलोमा नदी छेउमा राखिएको ब्लक बगाएको थियो। खनालका अनुसार १७ किलोमा ४० मिटर लामो र ६ मिटर चौडाइ सडक तीन दशमलब ५ मिटर भासिएको छ। त्यस्तै २६ किलोमा ७० मिटर लामो र ७ मिटर चौडाइ सडक ४० सेन्टिमिटर भासिएको छ। साथै २४ किलोमा त्रिशूलीतर्फ राखिएका ब्लकमध्ये ३५/३६ वटा बगाएका छन्।
सो सकडको पहिरो रोक्ने कामको बोलपत्र आह्वान भइसकेको छ भने भासिएको ठाउँ बनाउनका लागि विस्तृत अध्ययनको काम भइरहेको छ। सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख इञ्जिनियर अर्जुनजङ्ग थापाले सम्पूर्ण प्रक्रिया पूरा गर्न ढिलाइ भएकाले वर्षातअघि रोकथामको काम बाहेक दीर्घकालीन प्रभाव हुने काम गर्न कठिन देखिएको बताए।
पहिरो रोक्ने कामका लागि बोलपत्र आह्वान भइसकेको भन्दै उनले यसैसाता बोलपत्रको समय सकिएपछि मूल्याङ्कनको प्रक्रिया अघि बढाइने जानकारी दिए। सबै काम सम्पन्न गर्न एकदेखि डेढ महिना लाग्ने भएकाले वर्षातअघि काम गराउन कठिन हुने उनकाे भनाइ छ। वर्षातका कारण असार अन्तिम साताबाट यस सडकमा काम गर्न कठिन हुने अनुमान गरिएको छ।
थापाका अनुसार भासिएको सडकको नक्साङ्कन यसै साता सकिनेछ। त्यसलगत्तै बोलपत्र आह्वान गरी कामअघि बढाइने भएकाले वर्षातपछि मात्र काम हुने उनले बताए। उनका अनुसार सन् २०२० को जनवरी १५ सम्ममा काम सक्नेगरी प्रक्रिया अघि बढाइएको छ। थापाले भने, 'यो वर्षको वर्षातमा पहिरो रोक्नका लागि अल्पकालीन काम मात्र हुन्छ।' सडक भासिएका ठाउँमा एकतर्फी सवारी आवागमन हुँदै आएको छ।
सो सडक गतवर्ष मात्र विस्तारको काम सम्पन्न भएको हो। पहिरो रोक्न र भासिएको ठाउँ बनाउनका लागि पनि विश्व बैंककै सहयोगमा काम गर्न लागिएको हो। थापाकाअनुसार आन्तरिक कामका कारण र दाताका सम्पूर्ण प्रक्रिया पूरा गर्दा वर्षातअघि काम गर्न नसकिएको हो। ती दुबै काम गर्न करीब २० करोड रुपैयाँ लाग्ने अनुमान छ। सडक भासिएका ठाउँमा ६० मिटर तलबाट माटो निकालेर परीक्षण गरिएको छ।
यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन गुड्ने गर्दछन्। समयमा पहिरो रोक्ने काम र भासिएको सडक मर्मतको काम हुन नसकेकाले आउँदो वर्षात यात्रुले दुःख पाउने भन्दै सरोकारवालाले छिटो काम गर्न आग्रह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।