आगामी आवमा देवघाटकाे विकासका लागि १० करोड माग

नेपाल लाइभ | २०७६ जेठ २ बिहीबार | Thursday, May 16, 2019 ०८:४१:०० मा प्रकाशित

भरतपुर- देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १० करोड ८८ लाख ३० हजार रुपैयाँ बजेट माग गरेको छ। गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो।

चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकास काेषमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ। 'यस वर्ष पुँजीगततर्फ ७५ लाख र चालूतर्फ २० लाख रुपैयाँ बजेट निकासा भएको हो,' देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने, 'यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो।'

देवघाटमा रहेका १ सय २५ योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उनको माग छ। पौडेलले भने, 'देवघाट क्षेत्र सरकारको नीति कार्यत्रम र बजेटमा प्रथामिकतामा अहिलेसम्म परेन, देवघाटको विकासका लागि छुट्टै ऐनको अभावमा समस्या खड्किएको छ।'

'देवघाटको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न ६ अर्ब रुपैयाँ आवश्यक पर्छ, यस वर्ष नीति तथा कार्यक्रममा देवघाटलाई रामायण सर्किटका रूपमा विकास गर्ने भनेर सम्बोधन गरिएको छ, यसले केही आशा जगाएको छ,' उनले भने। गुरुयोजनाअनुसार काम सम्पन्न गर्न गण्डकी प्रदेशबाट एक अर्ब, प्रदेश ३ बाट एक अर्ब तथा भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबाट एक अर्ब रुपैयाँ बजेट विनियोजन गर्न अनुरोध गरेको पौडेलले बताए। ३ अर्ब बजेट केन्द्र सरकारमार्फत विनियोजन गरेर बाँकी काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

विसं २०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको उनी बताउँछन्। १० वर्षको अवधिमा समग्र योजनाको जम्मा २५ प्रतिशत काम सम्पन्न भएको छ। बाँकी १० वर्षमा ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको पौडेलले बताए। सबै पक्षको समझदारी, एकता र समन्वयबाट गुरुयोजनाअनुसारका काम अघि बढाउने उनले प्रतिबद्धता जनाए। पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दीर्घकालीन महत्वका योजना सम्पन्न गरिने बताए।

चालू आर्थिक वर्षमा देवघाट क्षेत्रमा बाँदर व्यवस्थापनदेखि ज्येष्ठ नागरिक (वृद्धाश्रम) भवन निर्माणसम्मका काम गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए। उनले  ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी २० प्रतिशत काम असारसम्म सम्पन्न हुने प्रतिबद्धता जनाए। विद्युतीय शवदाहगृह, पर्यटकीय गोलघरलगायतका महत्वपूर्ण योजना निर्माणको चरणमा रहेको उनले बताए। आगामी आर्थिक वर्षका लागि ४६ योजनामा बजेट माग गरिएको घिमिरेकाे भनाइ छ।

चितवन, तनहुँ र नवलपुरको सङ्गम देवघाट क्षेत्र ५ हजार ४ सय ३४ हेक्टरमा फैलिएको छ। 'विकास समिति ऐन, २०१३' अनुरुप देवघाट क्षेत्र विकास समिति गठन भएपछि विसं २०५१ बाट यहाँकाे विकासकाे लागि औपचारिक कार्य प्रारम्भ भएको थियो। रासस