एजेन्सी– सवारी साधनको बढ्दो संख्या र त्यसले निम्त्याएको प्रदूषणबारे बहस चलिरहेका बेला भारतको केन्द्र सरकारले सन् २०३० सम्ममा भारतभरि विद्युतीय वाहन चलाउने जनाएको छ।
भारतका केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले देशका सबै कार निर्माता कम्पनीलाई अब डिजेल/पेट्रोल कारको भविष्य धेरै नभएको चेतावनी दिएको सञ्चार माध्यमले उल्लेख गरेका छन्।
गड्करीले कार निर्माता कम्पनीसँग भने, ‘अब हामी वैकल्पिक इन्धनतर्फ जानुपर्छ। म यसै गर्नेवाला छु। तपाईं चाहे यो कुरा मन पराउनुस् या नपराउनुस्, म तपाईंहरूलाई सोध्नेवाला छैन। तर म यसलाई उखालेर फ्याँक्छु। प्रदूषण रोक्न र आयात घटाउन मेरा विचार प्रस्ट छन्।’
भारतीय कार निर्माता कम्पनीहरू सन् २०२० सम्ममा बिएस–६ इन्जिनयुक्त कार बजारमा उतार्ने तयारी गरिरहेका छन्। यसैले तत्कालका लागि भने उनीहरूले मन्त्री गड्करीको चेतावनीमा खासै ध्यान दिएका छैनन्।
गड्करीले सरकारको डिजेल/पेट्रोलरहित कारको योेजनामा सघाउने कम्पनीहरुलाई केही न केही फाइदा हुने बताउँदै असहयोग गर्ने कम्पनीको कारोबारमा असर पर्ने चेतावनी समेत दिएका छन्।
अटोमोबाइल कम्पनी सम्बन्धी एउटा कार्यक्रममा उपस्थित परिवहन मन्त्री गड्करीले पेट्रोल/डिजेलबाट चल्ने सवारीलाई अब विद्युतीय वा बायो इन्धनबाट चल्ने बनाउनै पर्ने बताए। उनले भने, ‘पेट्रोल/डिजेल कारको ब्यान्ड बजाउनुपर्छ ।’
मन्त्री गड्करीले यससम्बन्धी सरकारको योजनाबारे बताउँदै सन् २०३० सम्ममा भारतभर विद्युतीय वाहन मात्र चलाउने उद्देश्य रहेको बताए। उनले यसका लागि अटोमोबाइल उद्योगहरूलाई नयाँ कुरा सोच्न, अनुसन्धान गर्न र नयाँ प्रविधि विकास गर्न सुझाव दिए।

‘आज सबैसँग निजी गाडी छ। सडकमा गाडीको संख्या बढ्दै गइरहेको छ। अहिलेकै गतिमा सवारी साधनको संख्या बढ्ने हो भने सडकमा अझै लेन निर्माण गर्नुपर्छ,’ उनले भने, ‘अब डिजेलले काम चल्दैन, म बन्द गर्छु । तपाईंहरूले आफूलाई अब परिवर्तन गर्नै पर्छ।’
मन्त्री गड्करीले मन्त्रिपरिषदमा डिजेल/पेट्रोल सवारी बन्द गर्ने र विद्युतीय सवारीमा जाने प्रस्ताव अन्तिम चरणमा रहेको जानकारी दिएका छन्। उनका अनुसार प्रस्तावमा चार्जिङ स्टेसन खोल्ने विषय पनि समावेश छ। उनले भारतभर करिब २ हजार ड्राइभिङ स्कुल खोल्ने सरकारको योजना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।