डडेलधुरा- डडेलधुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका अधिकांश खानेपानीका आयोजनाबाट वितरित पानीमा दिशामा पाइने जिवाणु (कोलिफर्म) 'अत्यधिक' मात्रामा भेटिएको छ।
अमरगढी स्वास्थ्य शाखाका अनुसार अमरगढी नगरपालिकाभित्र रहेका १० खानेपानी आयोजनाबाट धारामा आउने अधिकांश ठाउँको पानीमा ‘कोलिफर्म’को मात्रा रहेको भेटिएकाे हाे।
परीक्षणका क्रममा सबैभन्दा बढी अमरगढी नगरपालिका–१० मा रहेको स्याउले खानेपानी आयोजनामा गन्नै नसकिने मात्रामा १ सय युनिटमाथि र मुसे खानेपानी योजनाको पानीमा ८२ युनिट कोलिर्फम भेटिएकाे खानेपानी विभागद्धारा सञ्चालित प्रदेशस्तरीय संघीय खानेपानी प्रयोगशाखा धनगढीका केमिस्ट अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार सबैभन्दा कम सदरमुकामस्थित खलङ्गा खानेपानी उपभोक्ता समितिद्धारा सञ्चालीत खानेपानी आयोजनाबाट वितरित पानीमा एक युनिट मात्र काेलिफर्म भेटिएकाे छ। त्यस्तै, ढाँडखोला मूलमा ८१ युनिट, स्याउले खानेपानी आयोजनामा ७२ युनिट र सहश्रलिङ्ग खानेपानी योजनामा ५५ युनिट कोलीर्फमको मात्रा भेटिएकाे छ।
याे मात्रा १ सय मिलिलिटर पानी परीक्षण गर्दा भेटिएकाे हाे।
पानीमा काेलिफर्मकाे मात्रा अत्याधिक देखिएकाेले पिउन अयोग्य हुने गुणस्तर परीक्षण रिर्पाटले देखाएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले जानकारी दिए।
घटाल खानेपानी योजना, दुधकाडी खानेपानी योजना, पोखरा खानेपानी योजना, उग्रतारा खानेपानी योजनाबाट वितरण हुने पानीमा ‘कोलीफर्म’ भएपनि पिउन योग्य भएको तर उमालेर पिउन उत्तम हुने स्वास्थ्य शाखा सह-संयोजक विष्टले बताए।
मुहानमा लामो समयसम्म पनि सरसफाइ नहुँदा दिशामा पाइने जिवाणु ‘कोलीफर्म’ पानीमा फेला परेको स्वास्थ्यकर्मीहरुको भनाइ छ। ‘कोलीफर्म’का कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायतका महामारीजन्य रोगको सङ्क्रमण हुने गर्दछ। गर्मी समयमा सङ्क्रमणकाे खतरा बढी हुने स्वास्थ्यकर्मीहरु बताउँछन्।
पानी जाँचकाे रिपाेर्ट:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।