राजविराज- सप्तरीमा शिक्षकहरुबाट परीक्षा अमर्यादित हुने गरेको एकपछि अर्को घटना सार्वजनिक भइरहेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको कक्षा ११ को परीक्षामा मर्यादाविपरीत काम गरेको आरोपमा मंगलबार एक शिक्षिका पक्राउ परेपछि यो तथ्य अझै प्रमाणित भएको छ।
राजविराजस्थित राजदेवी ठाकोदेवी जोगेन्द्र भगत मावि परीक्षा केन्द्रबाट प्रहरीले सोही केन्द्रकी निरीक्षक विभा यादवलाई पक्राउ गरेको छ। सिरहाको सुखीपुर नगरपालिका ९ की ३५ वर्षिया उनी सोही विद्यालयमा कार्यरत छिन्।
परीक्षा सकिएपछि कार्यालयमा लगेर विद्यार्थीको उत्तरपुस्तिकामा उत्तर लेखिरहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सिम्बोल नं ६१५०००२४ को उत्तरपुस्तिका निकालेर उत्तर लेखिरहेको अवस्थामा यादव पक्राउ परेको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए। मंगलवार 'इन्ट्रोडक्सन टु एजुकेसन' विषयको परीक्षा भएको थियो।
यादवलाई परीक्षाको मर्यादा विपरीतको कसुरमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।
यसअघि कक्षा १२ को परीक्षामा मोबाइल फोनमार्फत चिट चोरीमा सहभागी भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एक शिक्षक र तीन जना विद्यार्थी थिए।
मोबाइल फोनको प्रयोग गरी ‘इमो’मार्फत चिट चोरिरहेको पाइएपछि सप्तकोसी नगरपालिकास्थित गोवर्द्धन वैरागी जनता उच्च माध्यमिक विद्यालयका शिक्षक प्रदीपकुमार चौधरी तथा सोही विद्यालयका विद्यार्थी दीपेश सरदार, रामप्रसाद हुमागाईं र रञ्जितकुमार मण्डललाई पक्राउ गरिएको थियो।
मोबाइलमार्फत चिट चोर्न सहयोग गरेको आरोपमा शिक्षक चौधरी पक्राउ परेका हुन्। उनीहरुलाई कञ्चनरूप नगरपालिकास्थित सर्वोदय उच्चमावि परीक्षा केन्द्रबाट पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।