डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक विद्यालयमा विलय भएको छ।
सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म 'बोल्ने शिक्षा' अर्थात् 'टकिङ टिचर' लागू भएपछि गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा विलय भएका हुन्।
गाउँपालिकाले एक कार्यक्रमकाबीच औपचारिक रुपमा तीन विद्यालय एकै विद्यालयमा समायोजन गरिएको हो।
गाउँपालिकामा रहेको मर्निङवेल इङ्लिस बोर्डिङ स्कुल र सरस्वती प्राथमिक विद्यालय जिमरोडालाई लाटागन्याप प्राथमिक विद्यालय मालीगाउँमा पठनपाठन हुने गरी समायोजन गरिएको हो।
बढ्दै गइरहेको बसाईंसराई, विद्यार्थीको कम अनुपात तथा शैक्षिक गुणस्तर सुधारका कारण विद्यालयलाई समायोजन गरिएको विद्यालय स्रोतले बताएको छ।
गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ।
नर्सरीदेखि कक्षा ३ सम्म सञ्चालनमा रहेको सो स्कुलमा गत शैक्षिक सत्रमा जम्मा ९० जना विद्यार्थी रहेको जनाइएको छ।
त्यसैगरी कक्षा १ देखि ३ सम्म सञ्चालनमा रहेको सरस्वती प्राथमिक विद्यालय जिमरोडामा गत शैक्षिक सत्रमा जम्मा ५ जना मात्र विद्यार्थी थिए।
त्यस्तै कक्षा कक्षा १ देखि ५ सम्मको लाटागन्याप प्राथमिक विद्यालय मालीगाउँमा गत शैक्षिक सत्रमा जम्मा ४८ विद्यार्थी रहेको थिए।
सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु हुनका साथै गुणस्तरीय शिक्षाको विकास भएकाले समायोजन गर्नुपरेको मर्निङवेल बोर्डिङ स्कुलका प्रिन्सिपल शेरबहादुर ऐरले बताए।
‘संस्थागत विद्यालयमा जसरी गुणस्तरीय शिक्षा दिइएको थियो। त्यहीअनुसारको गुणस्तर सरकारी विद्यालयमा दिनुपर्छ भन्ने मान्यताले गर्दा हामी सबै मिलेका हौं,’ उनले भने, ‘ ‘संस्थागत विद्यालयकै गुणस्तर कायम गनुपर्छ भन्ने उद्देश्यले गाउँपालिकाको समन्वयमा हामी समायोजन भएका हौं।’
एकै स्थानमा धेरै विद्यालय रहेकोमा विद्यार्थीहरूको अनुपात कम भएको तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले अभियान थालेको जनाइएको छ।
मर्निङवेल इंगलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको उनले बताए।
अन्य वडामा रहेका निजी विद्यालय र विद्यार्थी संख्या कम रहेका सामुदायिक विद्यालयलाई समेत समायोजनको प्रयास भइरहेको उनको भनाइ छ।
‘यो समायोजनले गुणस्तरीय शिक्षामा टेवा पुग्छ। अन्य विद्यालयलाई समायोजनको प्रयास भइरहेका छ,’ उनले भने, ‘यो अभियान सफल भयो भने गाउँपालिकाको शैक्षिक गुणस्तर बढ्छ।’
शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ। विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापनमा सुधार गरिने अध्यक्ष मल्लले बताए।
समायोजन भएका विद्यालयमा बालविकास केन्द्र भने यथावत रहने र आवश्यक परेका समुदायमा बाल विकास केन्द्र थपिने गन्यापधुराका शिक्षा इकाइले जनाएको छ।
जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयमा पनि विद्यार्थी संख्या कम भएर समायोजन हुन नसक्दा गन्यापधुराले गरेको समायोजनको पहल कदरयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराले जनाएको छ।
३७ सामुदायिक विद्यालयमा मेसिनमार्फत् पढाइ
विद्यार्थीलाई पढाइमा आकर्षित गर्न सामुदायिक विद्यालयमा आधुनिक मेसिनको प्रयोग गर्न थालिएको छ।
डडेल्धुराका ३७ सामुदायिक विद्यालयहरूमा मेसिनमार्फत अध्यापन भइरहेको छ। डडेल्धुराका ७ स्थानीय तह मध्ये गन्यापधुरा गाउँपालिको २४ वटै विद्यालयमा मेसिनमार्फत पढाइ भइरहेको गाउँपालिका अध्यक्ष नबल बहादुर मल्लले बताए।
सदमुकामको एक विद्यालयमा टकिङ टिचर मेसिनमार्फत अध्यापन गराइ रहेको अमरगढी नगरपालिको शिक्षा शाखाले जनाएको छ।
यस्तै नबदुर्गा गाउँपालिको २ वटा परीक्षणका रुपमा लागू गरेको र राम्रो भए सम्पूर्ण विद्यालयमा लागू गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कबेन्द्र विष्टले बताए।
पछिल्लो समय सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दै गएका बेला स्थानीय तहले विद्यालयमा मेसिनबाटै पढाउन सकिने प्रविधि भित्र्याएको हो।
यो प्रविधिमार्फत् विद्यार्थीलाई बुझाउन, सम्झाउन र पढाएको कुरा लामो समयसम्म स्मरण गराउन सहज हुने छ भने स्पेलिङ इरर र उच्चारणको समस्या समाधान हुने हुदाँ शिक्षकलाई पनि सजिलो हुनेछ।
निलो रङको डल्फिन जस्तो देखिने टकिङ पेनले अक्षर छोएर विद्यार्थीलाई पढाउन सकिन्छ।
दुईहजार शब्द अंग्रेजी र एकहजार शब्द नेपाली युकेजीमा अध्यनरत विद्यार्थीले तीनहजार शब्द अंग्रेजी र पन्ध्र सय शब्द नेपालीमा भिडियो र अडियोसहित सिक्न सक्ने क्रियटिभ एडुटेन्मेन्ट वर्ल्डका व्यवस्थापक बासुदेव सुवेदीले बताए।
विद्यार्थीको पढ्ने सिपको विकास गराउन, सुनाइका आधारमा लेख्न सक्ने बनाउनका लागि यो प्रविधि अन्तर्गत ’नेपाली’ र ’अंग्रेजी’ दुवै भाषामा अलग–अलग पाठ्यपुस्तक रहेको सुवेदीले जानकारी दिए।
यसमा कुन भाषामा पढ्ने भन्ने विकल्प भएकाले शिक्षकलाई पनि उपयोगी हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।