काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियन्सिप अन्तर्गत युएई विरुद्धको दोस्रो खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी खेल्न नसक्ने भएका छन्।
नेपाली टिमका म्यानेजर रमन सिवाकोटीका अनुसार दीपेन्द्र मंगलबार भएको अभ्यासका दौरान घाइते भएका थिए। घाइते भएपछि उनी बुधबार युएई विरुद्धको पहिलो खेलमा अनुपस्थित थिए।
शुक्रबार हुने दोस्रो खेलमा पनि दीपेन्द्र खेल्न नसक्ने भएपछि उनको स्थानमा ब्याट्सम्यान अनिलकुमार साहलाई राखिएको सिवाकोटीले जानकारी दिए। वैकल्पिक खेलाडी अनिल नेपाली टिमसँगै युएई गएका थिए।
नेपाल र युएईबीच सातौं चरणको दोस्रो खेल शुक्रबार आबुधावीको शेख जायेद रंगशालामा हुँदैछ। खेल नेपाली समयअनुसार सवा ११ बजेदेखि सुरु हुनेछ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाललाई युएईले ७ विकेटले पराजित गरेको थियो।
डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ मा शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, अनिलकुमार साह, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन।
वैकल्पिक खेलाडी– कुशल भुर्तेल, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।