फाइल तस्बिर
काठमाडौँ- दर्जन बढी देशका सेनाको सहभागितामा पोखरामा विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सैन्य अभ्यास हुने भएको छ।
नेपाली सेना र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डको युनिटले संयुक्त रूपमा आयोजना गर्न लागेको उक्त अभ्यास जेठ ५ गतेदखि १२ गतेसम्म पोखरामा संचालन हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
उनका अनुसार उक्त अभ्यासमा अमेरिकासहित, भारत, चीन, मंगोलिया, बंग्लादेश, अष्ट्रेलिया, बेलायतलगायत दर्जन बढी देशका सेनालाई आमन्त्रण गरिएको पाण्डेले जानकारी दिए।
बिगत ५ वर्षदेखि नियमित रुपमा हुँदै संचालन हुँदै आएको उक्त अभ्यामास करिब २५० जनाको सहभागिता हुने छ।
पाण्डेका अनुसार विपद व्यवस्थापन क्षेत्रमा काम गरिरहेका विभिन्न सरकार तथा गैरसरकारी संस्थाका प्रतिनिधि पनि उक्त अभ्यासमा सहभागी हुने छन्।
यस्ता अभ्यासले भूकम्प जस्ता प्राकृतिक विपद व्यवस्थापनमा सेनाको क्षमताका वृद्धि हुने बताए।
‘अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्ड अन्तर्गत नेपाली सेनालाई तालिम दिनका लागि यो अभ्यास आयोजना गरिन लागेको हो,’ उनले भने, ‘भूकम्प जस्ता प्राकृतिक विपद्का बेला हुने उद्धारमा यसले क्षमता विस्तार गर्छ।’
नेपालले अमेरिका, चीन र भारतसँग नियमित सैन्य अभ्यास गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।