एजेन्सी– अमेरिकाको क्रेडिट रिपोर्ट कम्पनी ‘इक्विफ्याक्स इन्कर्पोरेसन’ले आफ्ना १४ करोड ३० लाख अमेरिकी ग्राहकको डाटा ह्याक भएको खुलासा गरेको छ। यो जनसंख्या अमेरिकाको करिब आधा हो।
इक्विफ्याक्सका अनुसार साइबर ह्याकरहरूले उसका ग्राहकको सोसल सेक्युरिटी नम्बर, जन्म मिति र ठेगानासहित कतिपयका ड्राइभिङ लाइसेन्स नम्बर समेत ह्याक गरेका छन्।
इक्विफ्याक्स अमेरिकाका तीन ठूला क्रेडिट रिपोर्टिङ कम्पनीमध्ये एक हो। सन् १८९९ मा स्थापित कम्पनीमा ७ हजार कर्मचारी काम गर्छन् भने १४ देशमा शाखा छन्। विश्वका ८० करोड उपभोक्ता र ८ करोड ८० लाख व्यवसाय इक्विफ्याक्सका ग्राहक छन्।
ह्याकिङबाट अमेरिकी मात्र नभएर आफ्ना केही बेलायती र क्यानेडियन ग्राहकलाई समेत असर परेको इक्विफ्याक्सले जनाएको छ।
तर, कम्पनीले आफ्ना मुख्य उपभोक्ता र व्यावसायिक क्रेडिट डाटाबेसबाट भने ह्याकरले डाटा चोरी गर्न नसकेको बताएको छ।
कम्पनीका अनुसार गत मे मध्यदेखि जुलाईको बीचमा ह्याकरले डाटा चोरेका थिए। कम्पनीले जुलाई २९ मा ह्याकिङबारे थाहा पाएको थियो।
ह्याकरहरूले अन्य सूचनाका साथै करिब २० लाख ९ हजार ग्राहकका क्रेडिट कार्ड नम्बर चोरेका थिए।
कम्पनीले अमेरिका, बेलायत र क्यानडाका नियामक निकायसँग मिलेर यसबारे काम गर्ने बताएको छ। कम्पनीले एक वर्षका लागि क्रेडिट नियमन र परिचय चोरी हुन नदिने सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ।
अमेरिकाको साइबर इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याकिङ हो।
याहूले आफ्ना १ अर्ब प्रयोगकताको एकाउन्ट सन् २०१३ मा ह्याक भएको गत वर्ष सार्वजनिक गरेको थियो। त्यस्तै सन् २०१४ मा इ–बेका करिब १४ करोड ५० लाख प्रयोगकर्ताको एकाउन्ट ह्याक भएको थियो।
इक्विफ्याक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रिचर्ड एफ स्मिथले भने, ‘घटना निराशाजनक छ। हामी को हौं र हामी के गर्छौं भनेर सोच्नुपर्ने बेला भएको छ।’
स्मिथले ह्याकिङबाट परेको असुविधाका लागि आफ्ना व्यावसायिक ग्राहक र उपभोक्तासँग क्षमायाचना गरेका छन्। उनले ग्राहकको डाटा संरक्षण र व्यवस्थापन गर्न कम्पनीको साइबर सुरक्षा सम्बन्धमा समीक्षा भइरहेको उल्लेख गरेका छन्।
तर, ह्याकिङबाट प्रभावित सबै व्यक्तिले अझै पनि यसबारे जानकारी नपाएको हुन सक्छ। किनभने कम्पनीले सबैको डाटा प्रत्यक्ष संकलन गर्ने नभएर क्रेडिट कार्ड कम्पनी, ब्यांक, खुद्रा व्यापारी र साहूहरूबाट ग्राहकका डाटा संकलन गर्छ।
कम्पनीले ह्याकिङबाट प्रभावित ग्राहकलाई इमेलबाट सूचित गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।