डोटी- डाेटीकाे दिपायल सिलगढी नगरपालिका–८, लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ जनाकाे बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ। जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो।
उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ जनाकाे बालविवाह भएको छ। सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले भने, 'विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ।'
बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ। यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति ५, दलित ६०, क्षेत्री समुदायमा ९८ जना रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ। मुख्यतया बालविवाह परिवारको दबाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ।
उक्त वडामा हालसम्म परिवारको दबाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले १, राम्रो घर परिवार पाउँदा ७, चाँडो विवाह गर्ने मान्यतामा ५, मेला पर्वमा १, भविष्य राम्रो हुने आशामा १ र अन्य ८० गरी जम्मा १ सय ६३ को विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताए।
बालविवाह गर्नेको जिल्लाभरिको सर्वेक्षण गर्ने हो भने करीब एक हजारभन्दा बढी तथ्याङ्क निस्किन सक्ने दिपायलका स्थानीय सर्वजित देउवाले दाबी गरे। उनले भने, 'सुदूरपश्चिमको पहाडी जिल्लामा सबैभन्दा बढी डोटीमा बालविवाह हुने गरेको छ, तथ्याङ्क निकाल्ने हो भने हजारौँ भेटिनेछन्।'
जिल्लामा बालविवाह र बालश्रमिक अन्त्यका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आए पनि बालविवाह रोक्न सकेको छैन। नगरपालिका प्रमुख मञ्जु मलासीले बालविवाह र बालश्रमिक राख्ने विरुद्ध कडारूपमा उत्रिने बताइन्। उनले भनिन्, 'बालविवाह र बालश्रम अन्त्यका लागि हामीले विभिन्न काम गर्दै आएका छौँ, बालश्रम राख्ने र बालविवाह गर्नेलाई कानुनी दायरामा ल्याएरै छाडिने छ।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।