चितवन- भरतपुरस्थित जिल्ला कारागार रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ। सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा १ हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ। हाल कारागारको क्षमता २ सय ८० जना अट्ने भए पनि अहिले ७ सय ३० कैदीबन्दी छन्। बस्नेतले चार/पाँच बिघा जमिन खोजी भइरहेको बताए। हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमिन रहेको छ।
भरतपुर महानगरपालिकासँग समन्वय गरेर जग्गाको खोजीकार्य भइरहेको उनले बताए। अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवतजावत गर्नुपर्ने भएकाले भरतपुरको सहरी क्षेत्रमा नै जग्गाको खोजी भइरहेको उनले जानकारी दिए। टाढा कारागार हुँदा खर्चिलो र व्यवस्थापनमा कठिन हुने भएकाले सहरी क्षेत्रमा नै जग्गा खोजी गरिएको उनकाे भनाइ छ।
जग्गाको पहिचानपछि कारागार भवन निर्माणका लागि प्रदेश सरकार तयार रहेको भन्दै उनले जग्गा खोजीको कामलाई तीव्रता दिइएको बताए। चालू आर्थिक वर्षमा जग्गाको पहिचान गरी आउँदा आर्थिक वर्षमा निर्माणको तयारी गरिएको छ। कारागारमा धेरै गैँडासम्बन्धी मुद्दाका कैदीबन्दी छन् भने अन्य जिल्लामा रहेका बिरामी कैदीबन्दीको रोजाइ पनि चितवन हुने हुँदा यो सङ्ख्या बढ्दो छ।
यससँगै पूर्वी नवलपरासीमा जिल्ला अदालत भए पनि कारगार नभएकाले त्यसको दबाब यहाँको कारागारले थेग्नुपरेको कारागार प्रमुख कमलप्रसाद काफ्ले बताउँछन्। यहाँको कारागारमा नवलपुर (बर्दघाट सुस्तापूर्व) जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ।
विसं २०७५ भदौ ३ गते पूर्वी नवलपुरमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट यहाँ १ सय ५३ कैदीबन्दी ल्याएर राखिएको छ। जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दी पठाउने गरिएको काफ्लेले बताए। समाचार-रासस/तस्बिर-चितवन पाेष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।