राजापुर- बर्दिया राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ। त्यो हो बर्दिया भनेपछि ‘बाघ’।
बर्दियामा लोपोन्मुख पाटेबाघको वृद्धि भएपछि दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउनेको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन्। 'धेरैजसो पर्यटक बाघ हेर्नकै लागि आउनुहुन्छ', भण्डारीले भने, 'गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिन्छ।'
निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्ने हो भने पनि बाघ संरक्षण नै बर्दियाको प्रमुख उपलब्धि हो। निकञ्ज घुम्न आउनेसँगको प्रवेश शुल्कवापत झन्डै डेढ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ। नेपाली पर्यटकबाट १३ लाख ८ हजार १ सय ३८, सार्क मुलुकका पर्यटकबाट ४३ लाख ९ हजार ५ सय २५ रुपैयाँ तथा विदेशी मुलकका पर्यटकबाट ९९ लाख ३७ हजार ४ सय ८० रुपैयाँ रकम राजश्ववापत उठेको छ।
निकुञ्जका टिकट बुकिङ इन्चार्ज रमेश चौधरीका अनुसार प्रवेश शुल्क तथा जङ्गल सफारी, क्याम्पिङ, जङ्गल ड्राइभिङ, अवलोकन, अध्ययन भ्रमण, विद्यालयका बालबालिकाको शैक्षिक भ्रमणवापत चालू आर्थिक वर्षको बैसाख महिनासम्म ३ करोड १ लाख १० हजार ९ सय ४१ राजश्ववापत उठेको छ।
नेपाली, विदेशी तथा सार्क मुलुकका गरी करिब २२ हजार पर्यटकले आर्थिक वर्ष २०७५/७६ को बैसाख मसान्तसम्म निकुञ्ज भ्रमण गरेका छन्। पछिल्लो तथ्याङ्कअनुसार बर्दियामा ८७ पाटेबाघ छन्।
बर्लिनमा भएको पर्यटन मेलाले बर्दिया राष्ट्रिय निकुञ्जलाई एसियाकै पहिलो प्राकृतिक गन्तव्यको घोषणासमेत गरेको थियो। प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।