ललितपुर- 'वाङ्मय शताब्दी पुरुष' सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित सम्मान गरिएको छ।
सोमबार सय वर्षमा प्रवेश गरेका शताब्दी पुरुष जोशीलाई ललितपुर महानगरपालिकाको आह्वानमा बग्गीमा राखेर नगरपरिक्रमासहित सम्मान गरिएको हो। नगरपरिक्रमापछि आयोजित समारोहमा सरकारको तर्फबाट कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलले उनलाई सम्मानपत्र प्रदान गरेका थिए। नेपालको कला, भाषा, इतिहास, संस्कृति र साहित्यको क्षेत्रमा पुर्याएकाे योगदानको स्मरण गर्दै सरकारले उनलाई सम्मानपत्र हस्तारण गरेको हो।

कार्यक्रममा कार्यबहाक प्रधानमन्त्री पोखरेलले शताब्दी पुरुष जोशीलाई दोसल्ला समेत ओढाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक प्रधानमन्त्री पोखरेलले उनलाई नेपालको 'जीवन्त सम्पदाको संज्ञा' दिए। उनले त्यस अवसरमा जोशीको दीर्घायु र चिरायुको कामना पनि गरे।
त्यस अवसरमा जोशीद्धारा लिखित ६ वटा पुस्तकको पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले आफूलाई दया, माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गरे। उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान गरे।
नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका जोशीको सय दिन प्रवेशको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदासमेत दिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।