धनगढी– कैलालीमा बैसाखको पहिलो साताबाट डढेलोको कारण वन विनाश जारी रहे पनि नियन्त्रणका लागि योजना निर्माणमा भने ढिलाइ भएको छ।
कैलालीका चुरे, बसन्ता, बाह्रवन, लगायतका ठूला र घन वनजंगलका साथै अधिकांश सामुदायिक वन डढेलोको चपेटामा परेका छन्।
डढेलोका कारण कैलालीमा करिब ४० प्रतिशत वनजंगल क्षेत्रमा व्यापक क्षति भइसकेको छ।
वन डढेलोको प्रकोप लगातार वृद्धि हुँदै गएपछि स्थानीय प्रशासनले ढिलो गरी रोकथामको पहल गरेको छ।
सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला वन सुरक्षा समितिको बैठकले वन डढेलो नियन्त्रणका लागि सुरक्षा योजना तयार गरेको जनाइएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला बन सुरक्षा समितिको बैठकले ‘स्थानीय तहहरूसँग समेत सहकार्य गरी वन डढेलो नियन्त्रणमा प्रभावकारी कार्यक्रम गर्ने’ निर्णय गरेको छ ।
त्यस्तै, वन डढेलो नियन्त्रणका लागि विभिन्न सञ्चार माध्यमहरूबाट जनचेतनामुलक सन्देश तथा कार्यक्रम गर्ने, वन डढेला लगाउने मानिसहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनका लागि सबै सुरक्षा निकायहरूलाई समन्वय र सहयोग गर्ने निर्णय गरेको छ।
डिभिजन वन कार्यालय, कैलालीका सहायक वन अधिकृत रामऔतार चौधरीका अनुसार बैसाखको पहिलो सातादेखि फैलिएकोे डढेलोका कारण हालसम्म कैलालीमा ४० प्रतिशत बढी वन क्षेत्रमा क्षति पुगेको छ। कैलालीमा दुई लाख पा“च हजार बढी हेक्टर वन क्षेत्र रहेको छ।
कैलाली प्रमुख जिल्ला अधिकारी बोहराले जिल्ला वन सुरक्षा समितिको बैठक सोमबार बसे पनि डढेलो नियन्त्रण कार्य भने पहिलेदेखि नै भइरहेको बताए।
उनले भने, ‘कुनै पनि स्थानमा वन डढेलो लागेको खबर पाउ“दासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सुरक्षा टोलीले तत्काल नियन्त्रण गर्ने काम गरिरहेको छ।’
सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक विष्णुप्रसाद भट्टले ‘दैनिक तीन/चार ठाउँमा वन डढेलोको घटना हुने गरेका छन्।
सुरक्षा टोलीले डढेलो नियन्त्रणका लागि काम गरिरहेको बताए। सशस्त्रका प्रहरी उपरिक्षक भट्टले, ‘डढेलो लाग्न नदिन स्थानीय तहलाई जिम्मेवार बनाउन आवश्यक रहेको छ।'
कैलाली वन डिभिजन कार्यालयका डिभिजन प्रमुख रामप्रसाद कँडेलले चुरे क्षेत्रमा वन डढेलो नियन्त्रण गर्न कठिनाइ भइरहेको बताए। उनले भने, ‘अहिले वन डढेलोका कारण चुरे क्षेत्र नै जोखिममा परेको अवस्था छ। त्यहाँ दमकल पनि पुर्याउने सकिने अवस्था पनि छैन। त्यसैमा चुरेका अधिकांश स्थानमा बढी सल्लाका रुख भएकाले डढेलो झन् छिटो फैलिने गरेको छ।’
उनले डढेलो नियन्त्रणका लागि स्थानीय तह, उपभोक्ता समिति, स्थानीय राजनीतिक दल, स्थानीयबासीले सक्रियता देखाउनुपर्ने बताए। उनले भने, ‘कतिपय ठाउँमा नयाँ घाँस उमार्नका लागि पनि वनमा आगो लगाइने गरेको पाइएको छ। यस्ता प्रवृत्तिका कारण डढेलोले वनभित्र क्षति पुर्याइरहेका छन्।’
वन डढेलो प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले पनि लाग्ने गरेको छ। वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण रहेका छन्।
वन अतिक्रमण नियन्त्रण गरिने
जिल्ला वन सुरक्षा समितिको बैठकले जिल्लामा वन अतिक्रमण नियन्त्रणका लागि प्रभावकारी रुपमा लाग्ने निर्णय गरेको छ।
समितिको बैठकको निर्णयमा भनिएको छ, ‘डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र पर्ने अतिक्रमणको विवरण तयार गरीवन अतिक्रमण नियन्त्रण कार्यदलको बैठकमा पेस गरिने छ।’
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा वन अतिक्रमणको अत्यधिक समस्या रहेको छ। देश संघीय संरचनामा गएसँगै संस्थागत वन अतिक्रमण जिल्लामा बढिरहेको डिभिजन वन प्रमुख कँडेलले बताए।
कैलाली प्रमुख जिल्ला अधिकारी बोहराले अतिक्रमणको विवरण तयार पारी समितिमा पेस गर्न डिभिजन वन कार्यालयलाई निर्देशन दिए। प्रजिअ बोहराले भने, ‘जिल्लामा कुन क्षेत्रमा कति वन अतिक्रमण भएको छ लागत तयार गरी समितिमा पेश गर्नुहोस् । त्यसपछि कसरी अघि बढ्ने योजना त्यही बनाइने छ।’
त्यस्तै, जिल्ला वन सुरक्षा समितिले सुरक्षा निकायबाट विशेष सतर्कता अपनाइ गैरकानुनी रुपमा वन पैदावर कटान एवम् ओसारपसार गर्ने व्यक्तिहरूलाई कारबाही गर्ने र वन्यजन्तु तथा जैविक विविधताको संरक्षण सम्बन्धमा सबै सुरक्षा निकायहरूबीच समन्वय गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।