काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएईले नेपाललाई ७ विकेटले पराजित गरेको छ।
आबुधावीको शेख जायेद रंगशालामा बुधबार भएको खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो।
खेलपछि नेपालका कप्तान पारस खड्काले ब्याटिङका कारण पराजित हुनुपरेको बताएका छन्। खेलपछि खड्काले आइसिसीलाई दिएको प्रतिक्रिया जस्ताको जस्तै:
'सुरुवातमा विकेट केही स्लो थियो। तर, पछि ब्याटिङका लागि सहज बन्दै गयो। हामीले कम्तीमा ४० रन कम बनायौं जस्तो लाग्छ। हामीले २६०/२७० रन बनाएको भए विपक्षीलाई दबाब हुन्थ्यो। हामीले बलिङमा पनि राम्रो गर्न सकेनौं। युएईले राम्रो ब्याटिङ गर्न सफल भयो।
सुरुवातका ४ ब्याट्सम्यान थप २०–२५ रन बढी बनाएको भए हामीलाई केही सहज हुन्थ्यो। हामीले पछिल्लो १५ ओभर राम्रो ब्याटिङ गर्न सफल भयौं। तर, हाम्रो योगफल जितका लागि पर्याप्त हुन सकेन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।