जनकपुर- जानकी नवमीका अवसरमा विशेष पूजाअर्चना गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएकी छन्।
राजर्षी जनककी छोरी जानकीको जन्मोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी सोमबार बिहान ९ बजे जनकपुरधाम आएकी हुन्। उनी हेलिकाेप्टरबाट बिहान ९ बजे यहाँ अवतरण गरेकी थिइन्।
एक साता मनाइने जन्मोत्सवमा नेपाली र भारतीय विद्वान तथा साधुसन्तहरू समेत सहभागी छन्। यस अवसरमा राष्ट्रपति भण्डारीले साधुसन्तलाई सम्मानसमेत गरेकी थिइन्।

‘बेटी पढाऔं, बेटी बचाऔं’ सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटो
साे क्रममा आफ्नाे धारणा राख्दै राष्ट्रपति भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गरिन्।
राष्ट्रपति भण्डारीले माता जानकीकाे जन्माेत्सवकाे अवसरमा प्रदेश २ को राजधानी जनकपुर पुगेर यो अभियान सफल गराउन आग्रह गरेकी छन्। जानकी मन्दिर प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा उनले अभियान सही ढंगले अगाडि बढिरहेकाले साे कार्य सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटो भएको बताइन्।
कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यसको अन्त्यका लागि सबै कृयाशील भएर अगाडि आउनु जरुरी भएको आवश्यकता औंल्याइन्।

राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम तथा स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्धिमा लाग्न सबैसँग आग्रह गरिन्।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने धारणा राखे।

प्रदेश सरकारले प्रादेशिक रुपमा मनाउँदै साेही पर्वकै अवसरमा सोमबार सार्वजनिक बिदासमेत दिएको छ।
कार्यक्रमका अन्य तस्बिरहरुः









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।