काठमाडाैं- 'वाङ्मय शताब्दी पुरुष' सत्यमाेहन जाेशी आज एक सय वर्ष पुगेका छन्। नेपाली संस्कृति, साहित्य र इतिहासका ज्ञाता जाेशीले कलाकार अरनिकाेमाथि अनुसन्धान तथा अध्ययन गरेका छन्।
९५ वर्षको उमेरमै नई प्रकाशनले जाेशीकाे बायोग्राफी (जीवन वृत्तान्त) मा पहिलाेपटक 'शताब्दी पुरुष'को उपमा दिएकाे थियाे।
जीवन वृत्तान्तमा ५ वर्षअघि नै शब्द प्रयोग भए पनि नेपाली संस्कृति, साहित्य र इतिहास क्षेत्रमा पुर्याएकाे यार्गदानलाई कदर गर्दै सरकारले भने २०७४ बैसाख २१ गते मात्रै जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको थियो।
जाेशीकाे जन्मदिनकाे अवसरमा आज उनकाे निवास ललितपुरकाे पाटनमा एक विशेष कार्यक्रमकाे आयाेजना गरियाे। जन्माेत्सवका अवसरमा गरिएकाे साे कार्यक्रममा जाेशीले परिवारसँगै मिलेर नेवारी परम्पराअनुसार पूजाअर्चना गरेका थिए। साे क्रममा जाेशीका परिवारजन, आफन्त तथा शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिएका थिए।
यसैबीच राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छिन्।
राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा एक मंगलकामना सन्देश पठाउँदै शुभकामना दिएकी हुन्। सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन उनले पुर्याएकाे योगदानको उच्च प्रशंशा गरिएको छ।
साे मंगलमय कामना सन्देश सोमबार बिहान उनकै निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो। कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएकाे सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्धारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो।
संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर सोमबार बिहान उनकै निवासमा आफन्तजनहरुले उनको सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन्। बिहानै जाेशी निवासमा पुगेका ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन र उनका आफन्तहरुले जाेशीकाे सुश्वास्थ्य र दिर्घायूको कामना गरेका हुन्।
यसैबीच, ललितपुर महानगरपालिकाले जाेशीकाे जन्माेत्सवका अवसरमा सम्मानस्वरुप सोमबार सार्वजनिक बिदा पनि दिएको छ।
यसअलावा जाेशी एक सय वर्ष पुग्न लागेकाे अवसरमा एक वर्षभरि विविध कार्यक्रमसमेत गर्नेगरी नगरभाबाटै निर्णय गरिएकाे थियाे। महानगरले यसअघि उनलाई सुरक्षा तथा यातायातकाे सुविधा प्रदान गरिसकेकाे छ।
नेपाली संस्कृति, साहित्य र इतिहासका ज्ञाता जोशी ३ पटक मदन पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन्। (तस्बिर-सिर्जना बास्ताेला)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।