काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएईले नेपाललाई ७ विकेटले पराजित गरेको छ।
आबुधावीको शेख जायेद रंगशालामा बुधबार भएको खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे। उनले १ सय १६ बलमा ८ चौका प्रहार गरे। मोहमद उस्मानले नटआउट १७ रन जोडे। त्यसअघि ओपनर रोहन मुस्ताफाले ६२ रन बनाए। उनले ७१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर अस्फक अहमेद १९ रनमा आउटमा रनआउ भए। रहिम शाहजादलाई सन्दीप लामिछानेले ३७ रनमा आउट गरे।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १–१ विकेट लिए।
युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो।
नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८१ रन जोडे। उनले ९५ बलमा ५ चौका प्रहार गरेका थिए।

यस्तै, बसन्त रेग्मीले नटआउट १४ रन जोडे। बसन्तले १५ बलको सामना गर्दा बाउन्ड्री प्रहार गरेनन्।
ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान दिलीप नाथले १६ रन जोडे।
कप्तान पारस खड्का र सोमपाल कामीले २०–२० रनको योगदान गरे। पारसले आउट हुनुअघि ३६ बलमा ४ चौका प्रहार गरेका थिए। सोमपालले १९ बलको सामना गर्दा ३ चौका हिर्काए। आरिफ शेख शून्य रनमा रनआउटको सिकार बन्दा विनोद भन्डारीले ४ रन भन्दा बढी जोड्न सकेनन्। बलिङतर्फ युएईका जाहुर खानले २ विकेट लिए।
अब सातौं चरणको दोस्रो खेलमा नेपाल र युएईबीच पर्सि शुक्रबार प्रतिस्पर्धा हुनेछ।
खेलको पूरा भिडियो हेर्नुहोस् :
आइसिसी र क्रिक इन्फोबाट खेलको स्कोरकार्ड हेर्नुहोस् ।
नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि दुई अभ्यास खेल खेलेको थियो। अमेरिकासँगको पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले जितेको थियो।
नेपाल र युएई दुवै डब्लुसिएल च्याम्पियनसिपबाट डिभिजन–२ मा झरिसकेका टिम हुन्। यसर्थ दुवै टिमले खेललाई डिभिजन–२ को तयारीको रुपमा लिएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।