धनगढी- कैलालीमा बैसाखको पहिलो साताबाट सुरु भएको डढेलोले यहाँका वनमा निकै क्षति पुर्याएको छ। डिभिजन वन कार्यालय, कैलालीका सहायक वन अधिकृत रामऔतार चौधरीका अनुसार यस वर्षको डढेलोका कारण हालसम्म कैलालीमा ४० प्रतिशतभन्दा बढी वन क्षेत्रमा क्षति पुगेको छ।
कैलालीमा २ लाख ५ हजार हेक्टर वन क्षेत्र रहेको छ। यहाँ बसन्ता, बाह्रवन, भारताल, चुरे लगायतका ठूला र घना वनजंगल तथा दर्जनौं सामुदायिक वन रहेका छन्। डिभिजन वन कार्यालय कैलालीका अनुसार यस वर्ष बसन्ता, भारताल, बाह्रवन तथा चुरे क्षेत्रका वनमा डढेलो लागेको छ।
सहायक वन अधिकृत चौधरीले भने ठूला र घना जंगलका साथै प्रायः सबै वनमा डढेलो लागेको बताए। केही वनमा फायर ब्रेकर राखिएकोले व्यापक क्षति हुनबाट जोगाउन केही सहयोग पुगेको उनको भनाइ छ।
डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन्। अमूल्य जडिबुटी पनि खरानी भए, उनले भने।
डिभिजन वन कार्यालय, कैलालीले डढेलोको क्षतिको यकिन मूल्यांकन गर्ने प्रविधि नभए पनि लगातारको वन डढेलोका कारण करौडौं मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथा पंक्षीको क्षति भएको अनुमान गरेको छ। यस पटक विगतको तुलनामा डढेलो बनेको सहायक वन अधिकृत चौधरीले बताए।
डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समितिहरू सक्रिय भए पनि नियन्त्रण कार्य प्रभावकारी बन्न नसकेको उनको भनाइ छ।
कैलालीमा भीमदत्त राजमार्गमा पडाड सुरु हुनेबित्तिकै वनमा लहरै डढेलो लागेको देखिन्छ। यो डढेलो चुरे गाउँपालिकाको अन्तिम सीमा फल्टुडे नपुगुन्जेल देख्न सकिन्छ।
करिब ४० किलोमिटरको क्षेत्रमा वन डढेलो देखिन्छ। स्थानीयका अनुसार १० वर्ष यताकै ठूलो डढेलो लागेको हो।
गोदावरी नगरपालिका वडा नम्बर ४ मा पर्ने सेती सामुदायिक वन खण्ड क’ र ख का विभिन्न ठाउँमा डढेलो छ। डढेलोले सानाठूला सबै रुख जलेर नष्ट हुनुका साथै हरिया डाँडा पूरै काला देखिन्छन्।
डढेलोका कारण वन आसपासमा बासिन्दा समेत त्रसित छन्। बुढीतोलाका ८० वर्षीय हरिबहादुर खनालले यस्तो डढेलो भएको आफूले कहिल्यै नदेखेको बताए। वनको दुवैपट्टि डढेलो छ,’ उनले भने, धुवाँले बस्न गाह्रो भइरहेको छ।
डढेलो गाउँ पस्ने त्रासमा स्थानीयहरू घर जोगाउन रातभर जाग्राम बस्ने गरेका छन्।
वडा नम्बर ४ का मुक्त अधिकारीले घरगोठ जोगाउन रातभर जाग्राम बस्ने गरेको बताए। डढेलोबाट वनको नियन्त्रण गर्न सकिएको छैन। घर जोगाउन हम्मेहम्मे परेको छ,’ उनले भने, रातदिन हावाहुरी चल्दा डढेलो निभाउन गाह्रो भइरहेको छ।
गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य शेरबहादुर घर्तीमगर सयौं हेक्टर वन डढेलोले सखाप भएको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।