काठमाडौं– श्रीलंका विरुद्धको तीन टेस्टको सिरिज भारतले १–० ले जितेको छ। तेस्रो टेस्ट बराबरीमा सकिएसँगै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो। यसअघि पहिलो टेस्ट बराबरीमा सकिँदा दोस्रो टेस्टमा भारत इनिङ र २ सय ३९ रनले विजयी भएको थियो।
तेस्रो टेस्टमा ४ सय १० रनको लक्ष्य पछ्याएको श्रीलंकाले ५ विकेटको क्षतिमा २ सय ९९ रन बनाउँदा दिनको खेल सकियो। अन्तिम दिन श्रीलंकाका धनन्जय डि सिल्भाले १ सय १९ रनको योगदान गरे। रोसेन सिल्भाले नटआउट ४४ तथा निरोसन डिकवेलाले नटआउट ४४ रनको योगदान गरेपछि खेल बराबरीमा सकिएको हो।
यसअघि पहिलो इनिङमा भारतले ७ विकेटको क्षतिमा ५ सय ३६ रन जोडेर इनिङ समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङमा भारतका लागि विराट कोहलीले २ सय ४३ तथा मुरली विजयले १ सय ५५ रनको योगदान गरे। श्रीलंकाले पहिलो इनिङमा ३ सय ७३ रन जोडेको थियो।
भारतले दोस्रो इनिङमा ५ विकेट गुमाएर २ सय ४६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेपछि श्रीलंकाले ४ सय १० रनको लक्ष्य पाएको थियो।
भारतका कप्तान विराट कोहली म्यान अफ दि म्याच तथा म्यान अफ दि सिरिज घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।