काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार भवन उद्घाटन तथा कार्यालय शुभारम्भ गरेका छन्।
आइजिपी खनालले भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोको उद्घाटन तथा काठमाडौं बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यालय शुभारम्भ गरेका हुन्।
उद्घाटनपश्चात खनालले दुवै ब्यूरोको निरीक्षण समेत गरेका थिए।
संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले मानव बेचबिखन तथा साइबर अपराधको चपेटाबाट नागरिकलाई सुरक्षित राख्न दुवै ब्यूरोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
महानिरीक्षक खनालले सबै सरोकारवाला निकाय तथा संघ संस्थाहरूले एकआपसमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
यस्ता अपराधबाट पीडितलाई न्याय दिलाउने कार्यमा सहज व्यवस्था मिलाउन समेत सबै सरोकारवाला निकायहरूले समन्वय गर्दै जानुपर्ने उनले बताए।
आगामी दिनमा दुवै ब्यूरोलाई विज्ञ जनशक्ति, आवश्यक प्रविधि तथा साधनस्रोतसहित थप व्यवस्थित गर्दै लैजानेतर्फ संगठनको प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले भविष्यमा मानव बेचबिखन तथा साइबर अपराधबाट कोही पनि पीडित नहुन् भन्नेतर्फ दुवै ब्यूरोले विशेष भूमिका खेल्ने बताए।
मानव बेचबिखन तथा भष्ट्राचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइ नेपाल प्रहरीले सबै सरोकारवाला निकायसँग सहकार्य र प्रभावकारी समन्वय गर्दै अगाडि बढ्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।