काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएई विरुद्धको खेलमा नेपालका शरद भेषावकरले अर्धशतक पूरा गरेका छन्। तेस्रो नम्बरमा ब्याटिङमा आएका शरदले ४३ ओभरमा ५० रन पूरा गरेका हुन्। शरदले २ चौका प्रहार गरे।
ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। यसअघि ओपनिङमा आएका दिलीप नाथ १६ रन बनाएर आउट भएका थिए। ३९ बल खेलेका उनले बाउन्ड्री प्रहार गर्न सकेनन्।
पारस खड्का र सोमपाल कामीले २०– २० रन बनाए।
विनोद भन्डारी ४ र आरिफ शेख शून्य रनमा आउट भए। अहिले शरद र सोमपाल कामी ब्याटिङ गरिरहेका छन्।
लाइभ भिडियो हेर्नुहोस् :
टेक्स्ट लाइभ आइसिसी र क्रिक इन्फोबाट पाउन सकिनेछ।
नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि दुई अभ्यास खेल खेलेको थियो। अमेरिकासँगको पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले जितेको थियो।
नेपाल र युएईबीच झन्डै साढे ३ वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो पटक नेपाल र युएईबीच मे २०१४ मा प्रतिस्पर्धा भएको थियो। एसिसी प्रिमियर लिगमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको थियो। जनवरी २०१४ मा भएको आइसिसी विश्वकप छनोटमा भने युएईले नेपाललाई १ सय २ रनले हराएको थियो।
नेपालका कप्तान पारस खड्काले युएई विरुद्धको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको बताएका छन्। क्रिक इन्फोसँग कुरा गर्दै पारसले भनेका छन्, 'युएईसँगको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएका छौं। हामी युवा खेलाडीलाई डिभिजन–२ का लागि तयार पार्छौं। युवा खेलाडीलाई अनुभव बटुल्न प्रतियोगिता महत्वपूर्ण छ।'
कप्तान खड्काले नेपाली टिम राम्रो बाटोमा रहेको तथा नेपालको पक्षमा नजिता बिस्तारै आउने समेत बताएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।