एडिलेट– एसेस सिरिज अन्तर्गत दोस्रो टेस्टमा पनि अस्ट्रेलिया विजयी भएको छ। एडिलेटमा भएको दोस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय २० रनले पराजित गरेर सिरिजमा २–० को अग्रता लिएको हो।
अन्तिम दिन ३ सय ५४ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको इंग्ल्यान्ड २ सय ३३ रनमै अलआउट भयो। इंग्ल्यान्डका लागि कप्तान जोए रुटले सबैभन्दा बढी ६७ रन बनाए। इंग्ल्यान्डलाई सस्तैमा रोक्न अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिए भने जोस हजलउड र नथाम लियोनले २–२ विकेट लिए।
यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ८ विकेटको क्षतिमा ४ सय ४२ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेका थिए। अस्ट्रेलियाका लागि साउन मार्सले १ सय २६ रन बनाएका थिए। उनी म्यान अफ दि म्याच घोषित भए। इंग्ल्यान्ड भने पहिलो इनिङमा २ सय २७ रनमै अलआउट भयो।
पहिलो इनिङमा २ सय २५ रनको अग्रता लिएको अस्ट्रेलिया दोस्रो इनिङमा भने १ सय ३८ रनमा अलआउट भयो। दोस्रो इनिङमा अस्ट्रेलियालाई सस्तोमा रोक्न इंग्ल्यान्डका जेम्स एन्डर्सनले ५ तथा क्रिस ओएक्सले ४ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।