काठमाडौं– यतिबेला नेपाली फिल्म क्षेत्रमा दुई अभिनेत्रीको सम्बन्धले राम्रो चर्चा पाएको छ।
उनीहरू हुन् वर्षा राउत र वर्षा सिवाकोटी।
म्युजिक भिडियोबाट करियर सुरु गरेका यी दुई अभिनेत्रीहरू अहिले सञ्चारमाध्यममा गसिपका रोचक पात्र बनेका छन्।
विशेषत: सञ्चारमाध्यमा उनीहरूको सम्बन्धमा दरार आएको र एक अर्काबीच सम्बन्ध चिसिएको भन्ने गरिएको छ।
फिल्म ‘गोपी’मा एक साथ अनुबन्धित यी अभिनेत्री मध्ये सिवाकोटीले फिल्म छाडेकी थिइन्। त्यसयता उनीहरूको सम्बन्ध चिसिएको अधिकांशको बुझाइ थियो।
फिल्म गोपीको माहोल सकिँदै गर्दा दुईबीचको सम्बन्धका बारेमा सिनेबजार मौन बन्यो। तर, संयोग मान्नु पर्दछ राउत अभिनित फिल्म ‘जात्रै जात्रा’ र शिवाकोटी अभिनित ‘वीरविक्रम–२’ एकै साथ प्रदर्शनमा आउँदै छन्। अर्थात् उनीहरू यही जेठ ३ गते एकै पटक पर्दामा भिड्न लागेका छन्।
यही विषयमा सञ्चारमाध्यममा ‘दुई अभिनेत्रीबीच भिडन्त’, ‘एक साथ लड्दै राउत र सिवाकोटी’ लगायतका शिर्षकहरूले सिनेबजारमा गर्माउन थालेको छ।
यही विषयलाइ लिएर दुई अभिनेत्रीहरूले सामाजिक सञ्जालमा दुःख पोखेका छन्।
आफूहरूबीच कुनै प्रकारको मनमुटाव नभएको तर अरुमार्फत् सम्बन्ध बिग्रिएको, एक अर्काप्रति दुस्मन बनेको भन्ने गलत कुरा बाहिर आएको भन्दै अभिनेत्री सिवाकोटीले दुःख पोखेकी छन्।

उनले सामाजिक सञ्जालमा एक पत्र लेख्दै आउँदो शुक्रबार दुई वर्षाको भिडन्त नभएर मिलनको दिन भएको प्रतिक्रिया दिएकी हुन्।
यस्तै अर्की अभिनेत्री राउतले शिवाकोटीको उक्त विषयलाई सहमति जनाएकी छन्।
उनले आफूलाई नै थाहा नभई अरु कसैले हामीबीच दुस्मानको 'बिल्ला' भिराएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएकी छन्।
सिवाकोटी र राउतको विषयलाई लिएर अन्य कलाकर्मीले समेत चासो देखाएका छन्।
उनीहरूले दुई वर्षाबीच अझ प्रगाढ सम्बन्धका लागि शुभेक्षा व्यक्त गरेका छन्।
तस्बिर : वर्षा सिवाकोटीको फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।