काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल आबुधावीको शेख जायेद रंगशालामा नेपाली समयअनुसार सवा ११ बजेदेखि सुरु हुनेछ।
खेलको आइसिसीले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। टेक्स्ट लाइभ आइसिसी र क्रिक इन्फोबाट पाउन सकिनेछ।
डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।
नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि दुई अभ्यास खेल खेलेको थियो। अमेरिकासँगको पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले जितेको थियो।
नेपाल र युएईबीच झन्डै साढे ३ वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो पटक नेपाल र युएईबीच मे २०१४ मा प्रतिस्पर्धा भएको थियो। एसिसी प्रिमियर लिगमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको थियो। जनवरी २०१४ मा भएको आइसिसी विश्वकप छनोटमा भने युएईले नेपाललाई १ सय २ रनले हराएको थियो।
नेपालका कप्तान पारस खड्काले युएई विरुद्धको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको बताएका छन्। क्रिक इन्फोसँग कुरा गर्दै पारसले भनेका छन्, 'युएईसँगको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएका छौं। हामी युवा खेलाडीलाई डिभिजन–२ का लागि तयार पार्छौं। युवा खेलाडीलाई अनुभव बटुल्न प्रतियोगिता महत्वपूर्ण छ।'
कप्तान खड्काले नेपाली टिम राम्रो बाटोमा रहेको तथा नेपालको पक्षमा नजिता बिस्तारै आउने समेत बताएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
नेपाली टिम- पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन।
वैकल्पिक खेलाडी– कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।