काठमाडाैं- बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ।
कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो २ महिनादेखि भने मुढा बिक्री हुन सकेका छैनन्। विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दीे उत्पादन गरिएका मुढा बिक्री नभएपछि चिन्तित भएका छन्। बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि आफूले बनाएको मुढा बिक्री नभएको बताए।
उनका अनुसार कारागारबाट २ सय ५० रुपैयाँ देखि ३ सय ७५ रुपैयाँसम्मका मुढा बिक्री हुँदै आएको र अहिलेसम्म ती मुढामा गुनासो आएको छैन।
५ सयभन्दा बढी मुढा बिक्री नभएपछि कैदीबन्दीले मुढा बनाउनसमेत छाडेका जानकारी दिँदै बन्दी घिमिरेले भने, 'मेरो मात्रै ३ सयभन्दा बढी मुढा बिक्री भएको छैन। अरु साथीको पनि बिक्री नहुँदा अहिले काम नै बन्द गर्नुपरेको छ।' कारागारमा बित्ने समयको सदुपयोग र आम्दानीको बाटोको रुपमा रहेको मुढा बिक्री नहुँदा आफूहरूलाई चिन्तित बनाएको अर्का कैदीबन्दी विनोद गन्दर्भले बताए।
उनका अनुसार एउटा मुढा बिक्री गर्दा ५० रुपैयाँ जति फाइदा हुने र एउटा मुढा तयार गर्नका लागि दुई/तीन लाग्ने भएकाले श्रम अनुसारको प्रतिफल नपाइए पनि फुर्सदको समयमा गरेको कामबाट मासिक चार/पाँच हजार भने कमाइ हुने गरेकाे थियाे।
कारागारमा रहेका कैदीबन्दीमध्ये ७० जनाले मुढा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ। मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्दै आएका छन्।
टायर राखेको १०, मुढा उठाएको १५, बिट मारेको र बुट्टा भरेको ३०/३० रुपैयाँका दरले कैदीबन्दीले पाउने गर्दछन्। यसरी काम गर्दा एक जनाले मासिक ५ रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन्।
कारागारका निमित्त प्रमुख नारायण अधिकारीले मुढा बिक्री नभएपछि कैदीबन्दीले आफूलाई समेत गुनासो गरेको र मुढा बिक्रीका लागि आफूले प्रयास भइरहेको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।