भद्रपुर- झापामा अन्तर्राष्ट्रिय वोडो मेचे साहित्य एवं सांस्कृतिक सभा शनिबारबाट सुरु भएको छ।
लोपोन्मुख मेचे जातिको संस्कार, संस्कृति, भाषा र लिपिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरस्थित धुलाबारीमा आयोजित सभाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे।
उनले लोपोन्मुख मेचे जाति र समुदायको संरक्षण, उत्थान र विकासको दायित्व प्रदेश सरकारको भएको बताए। नेपालमा रहेका १ सय २५ जातजातिमध्ये १ सय १६ जातिको बसोबास प्रदेश १ मै रहेको बताउँदै उनले भने, 'प्रदेशको नीति, कार्यक्रम बनिरहेको छ, आगामी बजेटमा मेचे जातिको उत्थानको लागि विशेष ढङ्गले सम्बोधन हुनेछ।'
सभाबाट मेचे समुदायको संस्कार, संस्कृति, भाषा र लिपिबारे ऐतिहासिक दस्तावेज तयार हुने विश्वास लिएको मुख्यमन्त्री राईले बताए। अहिलेसम्म मेचे समुदायको उत्पत्ति, भाषा, लिपि, संस्कार, संस्कृति र परम्परागत रीतिथितिको बारेमा कहीँकतै दस्तावेजसमेत नभएको हुँदा यसको ऐतिहासिक दस्तावेज तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कमल मेचेले बताए।
अधिकांश मेचे समुदायको बसोबास झापामा रहेको छ। उनीहरुको जनसङ्ख्या साढे ४ हजारको हाराहारीमा रहेको बताइएको छ। कार्यक्रममा भारतको आसाम, नागाल्याण्डलगायतका स्थानबाट समेत मेचे समुदायका साहित्यकार, राजनीतिज्ञलगायतको उपस्थिति रहेको छ। सभा आइतबार समापन हुनेछ। समाचार-रासस/तस्बिर-एस काठमाडाैं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।