काठमाडौं– पुस पहिलो सातादेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ। इपिएलले मंगलबार पत्रकार सम्मेलनमार्फत तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
इपिएलले खेल तालिका यसअघि नै सार्वजिनिक गरिसकेको छ। त्रिवी मैदान कीर्तिपुरमा गएर खेल हेर्न चहाने दर्शकका लागि साधारण टिकटको मूल्य एक सय तथा विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। इपिएलले सबै आइएमइ सेन्टरबाट टिकट किन्न सकिने जनाएको छ।
मैदानमै एलइडी स्कृनबाट पनि खेल हेर्ने सकिने र थर्ड अम्पायरको व्यवस्था गरिएको छ।
इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।
इपिएलका लागि खेलाडी अक्सन (बोलकबोल) मार्फत प्रत्येक टिमले १०–१० खेलाडी भित्र्याएका थिए। अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ। सबै टिमले ट्यालेन्ट हन्ट गरिरहेका छन् भने विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन।
यद्यपी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) इपिएल मान्यताविहीन प्रतियोगिता भएको तथा कुनै खेलाडीलाई खेल्न अनुमति नभएको जनाएकाले राष्ट्रिय खेलाडी खेल्छन् वा खेल्दैन भन्ने अन्यौल कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।