काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी पुस पहिलो सातादेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई मान्यता दिन नदिएको पुष्टि भएको छ। यसअघि नेपाल लाइभले इपिएललाई आइसिसीले मान्यता नदिएको खुलासा गरेको थियो।
इपिएल मान्यताविहीन प्रतियोगिता भएको तथा कुनै खेलाडीलाई खेल्न अनुमति नभएको ब्यहोराको जानकारी आएको नेपाल क्रिकेट संघको आधिकारिक इमेलले मंगलबार पुष्टि गरेको हो।
निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले आइसिसीको पत्रबारे पुष्टि गर्दै नेपाल लाइभलाई भने, 'आइसिसीले इपिएल मान्यताविहीन प्रतियोगिता भएको जनाएको छ। साथै, कुनै खेलाडीलाई खेल्न अनुमति नभएको पनि बताएको छ।'
यसअघिका प्रतियोगितामा कुनै प्रतिक्रिया नदिएको आइसिसीबाट अहिले इपिएललाई मान्यताविहीन प्रतियोगिता भएको जानकारी आउँदा आश्चर्यमा परेको प्याकुरेलले बताए।
आइसिसीको पत्रपछि इपिएल खेल्ने वा नखेल्ने खेलाडीको निर्णय भएको प्याकुरेलले जनाए।
आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको तथा अनुमति दिन नसकिने इमेल मार्फत जनाएका थिए।
उनको इमेलमा भनिएको छ, 'नेपालको सदस्यता आइसिसीले निलम्बन गरेको स्मरण गराउँन चाहान्छौं। यो अवस्थामा नेपालभित्र हुने प्रतियोगिताको मञ्जुरी आइसिसीले मात्र दिन सक्छ। आइसिसीले प्रतियोगिता गर्न स्वीकृती दिएको छैन। त्यसैले यो प्रतियोगिता सञ्चालन गर्न आइसिसीको अनुमति छैन। प्रतियोगिता खेल्न कुनै पनि खेलाडीलाई अनुमित छैन र स्वीकृति दिइने छैन।'
आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो। आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ।
क्यानको निलम्बनपछि नेपालको सिनियर टिम र यू–१९ टिमका खेलाडी आइसिसी अन्तर्गत छन्। यसर्थ आइसिसीको अनुमतिबिना कुनै प्रतियोगिता खेल्न सक्दैनन्। यस विषयमा प्याकुरेल भन्छन्, 'क्यान निलम्बनको अवस्थामा नेपाली खेलाडी आइसिसी मातहत छन्। आइसिसीको निर्देशन मान्ने कि नमान्ने भन्ने निर्णय खेलाडीकै हो।'
यद्यपी सिनियर टिम तथा यू–१९ टिमका क्रिकेटरले इपिएल खेल्न सम्झौता गरिसकेका छन्।
राष्ट्रिय टिमका पूर्व खेलाडी आमिर अख्तरको सक्रियतामा इपिएल आयोजना हुन लागेको हो। यसअघि अख्तरले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको घोषणा गर्दा पनि आइसिसीले अनुमति दिएको थिएन। एनपिएलको नाममा निजी संस्थाले प्रतियोगिता गर्न नपाउने भन्दै आइसिसी तगारो बनेको थियो। अख्तरले नाम परिवर्तन गरेर गत वर्ष इपिएल गराएका थिए। क्यान निलम्बनकै अवस्थामा गत वर्ष इपिएल हुँदा आइसिसीले कुनै प्रतिक्रिया जनाएको थिएन।
आगामी पुस ३ देखि तय भएको इपिएलको खेल तालिका समेत सार्वजनिक भइसकेको छ। लाखौं खर्च गरिसकेको इपिएलले अक्सनबाट खेलाडी छनोट गरेको थियो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।
इपिएलका लागि खेलाडी अक्सन (बोलकबोल) मार्फत प्रत्येक टिमले १०–१० खेलाडी भित्र्याएका थिए। अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ। सबै टिमले ट्यालेन्ट हन्ट गरिरहेका छन् भने विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।