ब्युनोस आयर्स– अर्जेन्टिनाका फुटबल टिमका कप्तान लिओनल मेसीको प्रतिमा तोडफोड भएको छ।
अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्समा पित्तलबाट निर्मित प्रतिमा तोडफोड भएको हो। मेसीको पूर्ण कदको उक्त प्रतिमाको मुख्य भाग तोडफोड गरिएको छ। प्रतिमा तोडफोड भएको यो दोस्रो पटक हो। गत जनवरीमा पनि प्रतिमा तोडफोड गरिएको थियो।
प्रहरीले तोडफोडको कारण अहिलेसम्म खुल्न नसकेको बताएको छ।
जुन २०१६ मा ब्युनोस आयर्सस्थित पसेओइ डे ला ग्लोरियमा प्रतिमा निर्माण गरिएको थियो। यहाँ अर्जेन्टिनाका चर्चित टेनिस खेलाडी गाब्रियल सबाटिनी र बास्केटबल खेलाडी म्यानुयल गिनोबिलीको पनि प्रतिमा निर्णाण गरिएको छ।

२००० मा अर्जेन्टिना छाडेका मेसी हाल स्पेनमा बस्दै आएका छन्। स्पेनिस क्लब बार्सिलोना तथा युरोपियन फुटबलमा धेरै रेकर्ड बनाइसकेका मेसीले देशका लागि भने उपाधि दिलाउन संघर्ष गरिरहेका छन्। पाँच पटकका फिफा वर्ष खेलाडीले देशका लागि सन् २००८ को ओलम्पिक गेम्समा स्वर्ण जित्नुबाहेक अन्य उपाधि जित्न सकेका छैनन्। क्लबका लागि भने मेसीले ३० उपाधि जितिसकेका छन्।
गत संस्करणको विश्वकपमा उपविजेतामा सीमित बनेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार २ पटक फाइनलमा पराजित भएको थियो। गत संस्करणको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेसीले संन्यासको घोषणा गरेका थिए। तर फ्यानको आग्रहपछि मेसीले संन्यास फिर्ता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।