जनकपुर- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आज धनुषामा निर्माण हुन लागेको प्रदेश २ स्तरीय विशेष शिक्षा विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन्।
धनुषाको मिथिला नगरपालिका-९, बेंगाडाबरमा प्रदेश २ स्तरीय विशेष शिक्षा विद्यालयकाे शिलान्यास भएकाे हाे। प्रदेश २ भरका विभिन्न प्रकृतिका अपांगता भएका बालबालिका अध्ययनका लागि विशेष शिक्षा विद्यालय निर्माण हुन लागेको हो।
बेंगाडाबरस्थित स्थानीय सार्वजनिक माध्यमिक विद्यालयको छेउमा निर्माण हुन लागेको विशेष विद्यालयको ३ वर्षभित्र भवन निर्माण हुने बताइएको छ।
शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पोखरेलले अपांगता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन निकै चुनौती रहेकाले ७ वटै प्रदेशमा एक-एक वटा विशेष विद्यालय निर्माण गर्ने सरकारको योजना रहेको बताए।

सोही अवसरमा मन्त्री द्वयले सार्वजनिक मावि बेंगाडाबरको ७४ लाख ५ हजार ११ रुपैयाँको लागत सहभागितामा निर्मित कृषि विज्ञान (प्राविधिक) विद्यालय भवनको समेत संयुक्त रुपमा समुद्घाटन गरे। उक्त विद्यालयमा कक्षा ९ देखि १२ सम्म पढाइ हुने यस विद्यालयमा कृषि विज्ञान प्रविधि शिक्षा सञ्चालन हुनेछ।
समारोहमा प्रदेश सांसद सत्रुधन महतो, शारदा थापा, मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारयाण महतो, नेकपा धनुषाका अध्यक्ष राजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका-११ खयरमारामा निर्माण हुन लागेको प्रदेश स्तरीय बहुप्राविधिक शिक्षालयको समेत शिक्षामन्त्री पोखरेलले शिलान्यास गरे। कम्युनिष्ट नेता स्वर्गीय निर्मल लामाको १९औं स्मृति दिवसको अवसरमा उनकै नामबाट पूर्व जनसेनाको खयरमारा ब्यारेकमा बुहप्राविधिक शिक्षालयको निर्माण प्रारम्भ भएको हो।
स्वर्गीय लामाको राणाविरुद्ध र कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उनकै नामबाट प्रदेश २ स्तरीय बहुप्राविधिक कलेज निर्माण प्रक्रिया अघि बढाएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए। मुलुकको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनु नै आजको अवश्यकता रहेको मन्त्री पोखरेलको धारणा थियो।
खयरमारामा भएको कार्यक्रममा प्रदेश सांसद शारदा थापा, बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीलगायतकाे सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।