जनकपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले शुक्रबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा भएको बलात्कार घटनाका पीडित परिवारलाई भेटेका छन्।
मन्त्री महासेठले महेन्द्रनगरमा गत १५ गते भएको बालिका बलात्कार घटनाका पीडित परिवारजनलाई भेटेर बलात्कारीलाई हदैसम्मको कारबाही हुने र पीडितलाई न्याय दिलाउने आश्वासन दिए।
मन्त्री महासेठले घटनामा संलग्नलाई कुनै पनि हालतमा कानुनले नछोड्ने बताउँदै आफूलाई बदनाम गर्न केही तत्वहरुले बलात्कारीलाई संरक्षण दिन खोजेको आरोप लगाएकोमा त्यो सरासर लगत भएको दाबी गरे।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनीधिसभा सदस्यसमेत रहेको मन्त्री महासेठले आफूलाई घटनाको केही दिनपछि मात्र जानकारी भएको बताउँदै भने, ‘को हो राजकुमार साह, म चिन्दिन। तर, राजनीतिक प्रतिशोधका कारण मेरो नाम बदनाम गर्नकै लागि घटना दबाउन खोजेको आरोप म माथि लगाइएको छ।’
‘मेरो गृह जिल्ला त्यसमा पनि आफूले जितेको निर्वाचन क्षेत्रसमेत महेन्द्रनगर हाे। त्यसैले यो घटनामा पिडितलाई सहयोग गर्नु मेरो कर्तव्य हो। म तपाईंहरुको साथमा छु। नेपाल सरकार र व्यक्तिगतरुपमा हुनसक्ने सहयोग गर्न म तत्पर छु।’
त्यसैगरी, पीडित परिवारसँगको भेटघाटको क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले अपराधी जो सुकै भएपनि उम्कन नपाउने बताउँदै फौजदारी मुद्दा लागेकोले अब कसैले चाहेर पनि केही गर्न नसक्ने प्रष्ट पारे।
धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले अदालतमा मुद्दा दायर भइसकेकोले फौजदारी मुद्दामा कसैको 'सोर्स-फोर्स' नचल्ने जिकिर गरे। घटना अहिले पनि अनुसन्धानकै दायरमा रहेकोले प्रहरीले आफ्नो तर्फबाट अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाए। उनले कानुनको हद म्याद भित्र अनुसन्धान सकेर सवुत प्रमाण, मेडिकल रिपोर्ट तथा किटानी उजुरीसहित पक्राउ परेका आरोपीलाई अदालतमा उभ्याउने बताए।
बैसाख १५ गते महेन्द्रनगरमा भएको बलात्कार काण्डका दोषीलाई १६ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिए लगत्तै प्रहरीले आरोपी ३३ वर्षीय राजकुमार साहलाई पक्राउ गरेर जबरजस्ती करणी मुद्दा चलाएको छ।
यसबीच मन्त्री महासेठ स्वयम् बलात्कारीलाई बचाउन लागेको भन्दै समाचार प्रकाशित भएपछि उनी आज पीडित परिवारजनलाई घरमै भेट्न पुगेका हुन्।
यसअघि बलात्कारीलाई फाँसीको सजाय माग्दै गत शुक्रबार र आइतबार गरी २ दिन महेन्द्रनगरमा स्थानीयहरुले सडकमा टायर बालेर प्रदर्शनसमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।