काठमाडाैं- काठमाडौंको असनस्थित पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका छन्।
असन वरपरको सबै सम्पदाहरुको नष्ट गर्ने उद्देश्यका साथ सो सम्पदा रहेको घरमा व्यापारिक भवन बनाउने निर्णय वायु देवता गुठी संस्थानले काठमाडौं महानगरपालिकाको मिलेमतोमा गरेको उल्लेख गर्दै स्थानीयले आपत्ति जनाएका हुन्। 'घडी घर'को नामले चिनिएको सो सम्पदामा व्यापारिक भवन बनाउने सो गुठी संस्थानको निर्णय सम्पदालाई मास्ने नियतका साथ आएकाले त्यसको विरोध गर्नु परेको स्थानीय सजीव बज्राचार्यले जानकारी दिए।
वर्षौंदेखि स्थानीयले भोगचलन गर्दै आएको सो सम्पदा रहेको घर वायु गुठी संस्थानले काठमाडाैं महानगरपालिकासँग घुस खाएर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन्।
उनीहरुले सो सम्पदाको संरक्षण गर्न र स्थानीयले भोगचलन गर्दै आएको सो घर मासेर व्यापारिक भवन बनाउने काम गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्। शुक्रबार असननै सो सम्पदामा व्यापारिक भवन बनाउने गुठी संस्थानको निर्णयको विरोधमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो।
स्थानीयलाई विस्थापित गर्नेगरी सो ऐतिहासिक महत्वको घरमा व्यापारिक भवन बनाउने निर्णयको विरोध गर्न आह्वान गर्दै आयोजना गरिएको विरोधसभामा बोल्दै पूर्वमन्त्री हिसिला यमीले सरकार, काठमाडौं महानगरपालिका र सो गुठी संस्थानलाई असनको सम्पदाहरु नष्ट गर्ने अधिकार कसले दियो? भनि प्रश्न गरिन्। उनले व्यापारिक प्रयोजनको नाममा असनको सम्पदा नष्ट गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिइन्।
‘असन कोथुननी बचाउ अभियान’को अगुवाईमा सो सम्पदा नष्ट नगर्न आह्वान गर्दै विरोध प्रदर्शन सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।