काठमाडाैं- इन्टरनेट तथा टिभी सेवा प्रदायक संघसंस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल दर कायम गरेकाे उल्लेख गर्दै आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ।
नेपाल विद्युत प्राधिकरणले पोलको समेत रेट बढाएपछि आक्रोशित भएका इन्टरनेट तथा टिभी सेवा प्रदायक संघसंस्थाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरु बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएका हुन्। ५० रुपैयाँ तिर्दै आएको पोलको भाडा १४ हजार भन्दा बढी पुर्याएपछि आफ्ना सबै सेवाहरु बन्द गर्ने अवस्था आएको इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले जानकारी दिए।
नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महशुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै आएका टिभी तथा इन्टरनेट सेवा प्रदायक संघसंस्थाहरुले आफ्ना सेवा बन्द गर्ने अवस्था आएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्। समितिका संयोजक सुवेदीले ३५ अर्ब बढी लगानी गरेका केवल टिभी सञ्चालकहरुलाई मारमा पार्ने गरी सेवा शुल्क लिने काम गरेको भन्दै आपत्ति जनाए।
नेपाल विद्युत प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेको र त्यसलाई पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरिएको इन्टरनेट तथा केवल टिभी सञ्चालकहरुको गुनासो छ। ती संस्थाहरुले तार काटेर आफ्नो सेवा बन्द गरे सम्पूर्ण इन्टरनेट तथा सञ्चारमाध्यामहरु प्रभावित हुनेछन्।
संयोजक सुवेदीले प्रश्न गरे, '५० रुपैयाँ तिर्नुपर्ने पोलको भाडादर १४ हजार ५ सय किन?'
नेपाल केवल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिस मिडिया नेटवर्क लिमिटेड आवद्ध रहेको सो समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले पछिल्लो पटक तोकेको चर्को मूल्य नघटाए सरकारविरुद्धनै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।