काठमाडौं– बच्चालाई बेवारिसे अवस्थामा छाडेको आरोपमा पक्राउ परेकी पूर्वसांसद गायत्री साह र उनका पति राजेश महतोकाे स्वास्थ्यमा खराबी आएपछि पाटन अस्पताल भर्ना गरिएकाे छ।
पक्राउ परेपछि ६ दिनदेखि हिरासतमै अनसन बसेका गायत्री साह र उनका पतिकाे स्वास्थ्यमा खराबी आएपछि आज पाटन अस्पतालकाे आकस्मिक कक्षमा भर्ना गरिएकाे हाे। रिगटा लाग्ने र बेहाेस हुने समस्या भएपछि उनीहरुलाई अस्पताल लगिएकाे हाे।
ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई बेवारिसे अवस्थामा छाडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे थियाे। पक्राउ परेका साह दम्पत्तीलाई प्रहरीले सोमबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियाे।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाका अनुसार उनीहरुविरुद्ध आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको थियाे। उनीहरु विरुद्ध अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको थियाे।
साह दम्पतीले पक्राउ गरेकाे विराेधमा पछिल्लाे ६ दिनदेखि हिरासतमै अनसनरत थिए।
कस्ताे छ सजायकाे प्रावधान?
साह दम्पतीले उक्त अस्पतालमा बच्चाको भर्ना गराएको तर डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालको गल्ती देखाउँदै बच्चा छाडेका थिए। उनीहरुविरुद्ध प्रहरीले 'मुलुकी अपराध संहिता २०७४' को दफा १८४ को व्यवस्था अनुसार मुद्दा दायर गरेको थियाे।
दफा १८४ मा आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने उल्लेख छ। १८४ को उपदफा १ मा भनिएको छ, 'कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउज्यानमा खतरा पुग्नसक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न हुँदैन।'
यदि कसैले यसरी उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराएमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।
यसरी बेवारिसे छाडिएका बालबालिका, अशक्त, रोगी वा वृद्ध व्यक्तिको मृत्यु भएको छ भने कसूरदारलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ।
तर, फालिएको, परित्याग गरिएको वा बेवास्ता गरी छाडेको कारणबाट नवजात शिशुको मृत्य भएमा दफा १७७ बमोजिम सजाय हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।