डडेल्धुरा– चार पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा चुनाव लड्दा हरेक पटक सडक स्तरोन्नतिको चुनावी नारा बनाएर भोट मागे। त्यो हो, देउवाको आफ्नै गाउँ जाने भातकाँडा–गन्यापधुरा सडक।
आफ्नै गाउँ जाने सडक कालोपत्रे गर्ने चुनावी नारा समेत पूरा नगरेर देउवाले आफूहरुलाई ढाँटेको त्यहाँका बासिन्दा गुनासो गर्छन्।
संविधानसभाको दुवै निर्वाचनमा देउवाले भातकाँडा–गन्यापधुरा सडक कालोपत्रे गर्ने वाचा गर्दै भोट मागेको यहाँका मतदाता सम्झन्छन्। तर, जितेर भएपछि उनले यो सडकलाई फर्केर नहेरेको स्थानीय बताउँछन्।
‘देउवाजी चुनावका बेला मात्र यहाँ आउँछन्’, गन्यापधुरा गाउँपालिका–१ का ईश्वरीप्रसाद अवस्थी भन्छन्, ‘उनले पिच गर्छु भनेर वचन दिए पनि अहिलेसम्म सडक जस्ताको तस्तै छ।’
गणेशपुर गन्यापधुरा गाउँपालिका–२ का दिल देउवाले प्रधानमन्त्री देउवा भोट हाल्न यही सडक हुँदै मतदान केन्द्र जाने गरेको बताउँछन्। तर, वर्षौं बित्दा पनि सडक कालोपत्रे नहुँदा त्यहाँका बासिन्दा खिन्न छन्।
सडक पिच हुने चर्चा पटकपटक आए पनि पछिल्लो समय स्थानीयले त्यस्ता कुरा पत्याउनै छाडेका छन्।
यो सडक ०५४ सालमा बनाइएको हो। भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भातकाँडाबाट गाउँसम्मको पूरै सडक कच्ची छ। हिउँदमा धुलाम्मे हुने सडक वर्षामा हिलाम्मे हुँदा सवारीसाधन चलाउन समस्या हुने गरेको छ।
झुटो आश्वासन दिएकाले देउवाले गृहजिल्लाको आफ्नै गाउँमा लोकप्रियता गुमाएको स्थानीयहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।